नेपाली कांग्रेससँगको माओवादी केन्द्रको गठबन्धन फुटाउन सफल बनेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अहिलेको सत्ता समीकरणको प्रमुख शक्ति केन्द्र बनेका छन् । अहिलेको समीकरणलाई अघि बढाउन एमालेको भूमिका निर्णायक बनेको छ । कांग्रेससँगको माओवादीको गठबन्धनलाई भत्काउन सफल बनेका एमाले अध्यक्ष ओली आफू अनूकुलको राजनीतिक समीकरण विकास गर्न अनेकौं रणनीतिमा छन् ।
माओवादी केन्द्रलाई आफ्नो पक्षमा पारेको एमाले आसन्न उपचुनावमा माओवादीकै काध चढेर राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गरेर चुनाव जित्ने दाउमा छ । उपचुनावमा एमालेका उम्मेदवार सुहाङ नेम्वाङलाई जिताउन एमालेले माओवादी केन्द्रको साथमा पाएको छ भने माओवादीको सहयोग रास्वपाका उम्मेदवार मिलन लिम्बुलाई हराएर चुनावी परिणाम आफू अनूकुल बनाउने पक्षमा छ ।
अहिलेको समीकरणको नेतृत्व प्रधानमन्त्री पुष्पकमल दाहालले गर्दै आएको भएपनि सरकारमा एमाले अध्यक्ष ओली कै निर्णय हाबी हुने गरेको राजनीतिक वृतमा चर्चा छ । समीकरण ठूलो दल एमालेले माओवादी केन्द्र, रास्वपा लगायतका दलहरुलाई आफू अनूकुल चलाएका छन् । गृहमन्त्री लामिछानेले गर्ने अधिकांश निर्णयमा समेत अध्यक्ष ओलीकै बोली बिक्ने गरेको छ । पछिल्लो समय गृहमन्त्री लामिछानेले गरेको प्रहरी बढुवाको क्रममा अध्यक्ष ओलीकै निर्देशन अनुसार रोलक्रम मिचेर ओलीकै पूर्वअंगरक्षकहरुलाई पद बढुवा गरेको चर्चा छ । जसका कारण गृहमन्त्री विवादित समेत बनेका छन् । मिनि एमालेका रुपमा चर्चित रास्वपाले एमालेको निर्देशनलाई नै पालना गर्ने गरेको राजनीति विश्लेषकहरुको भनाइ छ ।
सत्ता समीकरणको ठूलो दलको हैसियतले सरकारमा एमालेकै रजगज चल्ने गरेको कतिपयको बुझाइ छ । सत्तामा पुग्न जस्तोसुकै रणनीति चाल्न सिपालु ओली माओवादीसँग मिलेर रविको पार्टीलाई उपचुनावमा हराउने योजनामा छ ।













