पोखरा, १८ मंसिर । सहिद योगेन्द्रमान शेरचनको जीवनमाथि लेखेको किताब पोखरामा विमोचन गरिएको छ । रवीन्द्र माकाजुद्धारा लेखिएको उक्त पुस्तक थकाली सेवा समितिले आयोजना गरेको कार्यक्रममा साहित्यकार सरुभक्तले विमोचन गरे । माकाजुद्वारा लिखित पुस्तकको प्रकाशन भने महेन्द्रबहादुर शेरचनले गरेका हुन् ।
सो अवसरमा प्राज्ञ सरुभक्तले योगेन्द्रमान जस्ता निष्ठावान् तथा इमानदार व्यक्तित्वको सिको राजनेताले गर्नुपर्ने बताए । उनले योगेन्द्रमानको ऐतिहासिक योगदान बिर्सन नसकिने भन्दै थकाली जाति र समस्त नेपालीले गर्व गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रममा नेपाली कांग्रेस गण्डकी प्रदेश सभापति शुक्रराज शर्मा, कांग्रेस नेता देवराज चालिसे, डा. सोमतसिंह तुलाचन, डा. रामचन्द्र पोखरेल, साहित्यकार सुन्दरप्रसाद जोशी, नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष विमला भण्डारी र पत्रकार युगनाथ शर्माले सहिद योगेन्द्रमानको योगदानमाथि प्रकाश पारेका थिए ।
सहिद योगेन्द्रमानका जेठा छोरा पूर्व सहायकमन्त्री सुशीलमान शेरचन, पुस्तकका लेखक रवीन्द्र माकाजु, थकाली सेवा समिति केन्द्रीय उपाध्यक्ष शिवशंकर गौचनले कार्यक्रममा मन्तव्य राखेका थिए ।सोही कार्यक्रमबीच विद्यालयलाई विशेष योगदान पु¥याएकोमा महेन्द्रबहादुर शेरचनलाई सम्मान गरिएको थियो । थकाली सेवा समिति पोखराका अध्यक्ष रुजीन्द्र तुलाचनको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन सचिव अशोककुमार भट्टचनले गरेका थिए ।











