काठमाडौँ– काठमाडौँ स्थित अमेरिकी राजदुताबासका मिशन उपप्रमुख जेसन मिक्सले अमेरिकी सरकारको एक्सचेन्ज कार्यक्रमका पूर्व सहभागीसँग भेटघाट गरेका छन् । उपप्रमुख मिक्सले भेटघाट गरेको पूर्व सहभागीहरु आ—आफ्नो क्षेत्रका विज्ञता हासिल गर्नुको साथै नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । उनीहरुले पछिल्ला वर्षहरुमा पूर्व सहभागी इम्प्याक्ट पुरस्कार पनि प्राप्त गरेका छन् ।
मिशन उपप्रमुख मिक्सले भेटघाट गरेका एक्सचेन्ज कार्यक्रमका पूर्व सहभागीहरुमा धुलिखेल अस्पतालका जनस्वास्थ्य, सामुदायिक कार्यक्रम र ग्लोबल इन्गेजमेन्टका निर्देशक डा विराज कर्माचार्य, विकास सम्बन्धि विज्ञ श्वेता धौबडेल, कर्मयोग फाउन्डेसनका अध्यक्ष सौरभ रिमाल, लेखक र अनुसन्धानकर्ता दिया योञ्जन, संयुक्त राष्ट्र निवासी संयोजकको कार्यालयका आर्थिक नीति सल्लाहकार सुवास नेपाली र अंग्रेजी भाषा शिक्षक र सल्लाहकार बामन घिमिरे रहेका छन् ।
भेटवार्ताको क्रममा उपप्रमुख जेसन मिक्सले उनीहरुको उत्कृष्ट नेतृत्व भूमिकाको लागि र पूर्व सहभागीका प्लेटफर्महरू एक अर्कासँग जोडि रहन र आफ्नो स्थानीय समुदायलाई मद्दत गर्न प्रयोगगरेकोमा बधाई दिएका छन् । उनीहरुले गरेको योगदानले आ–आफ्नो क्षेत्रमा विशिष्ट मान्यता र सम्मान पाएको देख्दा सुखी भएको उनले बताए ।













