काठमाडौं । दुई पोस्टर सार्वजनिक गर्दै रिलिज ‘पुजार सार्की’ सिनेमाको रिलिज मिति घोषणा गरिएको छ । घोषणा अनुसार सिनेमा आगामी वर्ष जेठ १० गते बिहीबार बुद्ध जयन्तीका दिन नेपाल तथा डायस्पोरामा एकसाथ रिलिज जानकारी निर्माण पक्षले दिएको छ ।
आज सार्वजनिक गरिएका दुई पोस्टरमा सिनेमाका तीन प्रमुख कलाकारहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह फिचर छन् । सार्वजनिक दुईमध्ये एक पोस्टरमा निधारमा रातो टीका लगाएका प्रदीप दमाहा बजाइरहेका छन् भने आर्यन र पललाई मुस्कुराइरहेको देख्न सकिन्छ ।
त्यस्तै अर्को पोस्टरमा ती तीन अभिनेता आर्य जातीय व्यवस्थाको उपक्रमा बसिरहेको देख्न सकिन्छ । सिनेमाका निर्देशक दिनेश राउत हुन् । सिनेमामा आर्यन, पल तथा प्रदिपका अलावा अञ्जना बराइली र परीक्षा लिम्बुले पनि प्रमुख भूमिकामा छन् । सार्वजनिक दुवै पोस्टरमा अभिनेत्रीहरू भने छैनन् । यस्तै उनीहरुको साथमा सिनेमामा मोहन निरौला, लोकेन्द्र लेखक, सुवास गजुरेल, विद्या कार्की, तारा शर्मा, शङ्कर आचार्य, प्रेम सुब्बा, गोविन्द रमण पराजुली, राजेश बिसुराल लगायतको पनि अभिनय छ ।
सङ्गीतकार सुवास भुसालले निर्माण गरेको सिनेमामा हर्क साउद, बि. पाण्डे, दिनेश राउत र गणेश शाही गीत रहेको छ भने संगीत निर्माता भुषालकै रहेको छ । राजेश श्रेष्ठको छायाँकन रहेको सिनेमामा ‘पुजार सार्की’लाई सुप्रिम पराजुलीले सम्पादन तथा कलर ग्रेडिङ छ भने साउण्ड डिजाइन उत्तम न्यौपाने, ब्याकराउण्ड स्कोर शैलेश श्रेष्ठ, कस्ट्युम डिजाइन आशिष पौडेल, प्रोडक्शन डिजाइन कसम नेपाल, प्रोडक्शन कन्ट्रोल मनोज जोशी र प्रोडक्शन व्यवस्थापन विदुर मानन्धरको रहेको छ ।
किङ्गडम नेटवर्कको ब्यानरमा बनेको यो चलचित्र आरआर फिल्मसले वितरण गर्दैछ । रिलिज मिति घोषणासँगै यो मितिमा ‘फर्की फर्की’ र ‘पुजार सार्की’को वक्सअफिस भिडन्त पक्का भएको छ । यही मितिमा पूजा शर्माको एक्सन सिनेमा ‘दान्भी’ समेत रिलिज हुँदैछ । यो त्रीपक्षिय भीडन्तमा कुन सिनेमाले दर्शक रिझ्याउला ? अहिले नेपाली रजतपटमा यो भीडन्त चासोको विषय बनेको छ ।













