काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले अपांगता भएका व्यक्तिको जीवन सहज तुल्याउने विषयमा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको बताएकी छिन्।
३१औँ अन्तर्राष्ट्रिय आपँगता दिवसको अवसरमा शुभकामना दिँदै भण्डारीले शिक्षा, स्वास्थ्य र रोजगारीबाट अझै पनि वञ्चित हुने अवस्था रहेको भन्दै अपांगता भएका व्यक्तिको पहिचान गरी राज्यले प्रदान गर्ने सुविधा र अवसरमा समान पहुँच स्थापित गर्नु राज्यको प्राथमिकता हुनुपर्ने बताएकी छिन्।
शुभकामना सन्देशमा अपांगता भएका व्यक्ति, यस क्षेत्रमा क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सङ्घसंस्था, नेपाल सरकार, अभिभावक समूहलगायत सम्बद्ध सबैलाई अपांगता भएका नागरिकको पक्षमा निरन्तर क्रियाशील रहन प्रेरणा र ऊर्जा मिल्ने विश्वाससहित शुभकामना व्यक्त गरेकी छिन्।
‘अपांगतासम्बन्धी व्यक्तिको अवस्थालाई समाजले हेर्ने दृष्टिकोणसमेतमा रूपान्तरण गर्दै सभ्य समाजको निर्माण गर्न यस दिवसले हामी सबैलाई अभिप्रेरित गर्ने मैले विश्वास लिएको छु’, उनको शुभकामना सन्देशमा भनिएको छ।














