युवराज मैनाली
वर्गीय उत्थानका लामा लामा कुरा भए । जातीय स्वाभिमानका अनेकन कुर्लाइहरू छरिए । हरिमान त झन् अगुवा त्यसमाथि प्रत्येक कुरामा प्रतिकृया जनाइहाल्ने र सक्रियतापूर्वकको उनको आनीबानीले उनलाई नेता नै बनाइदिएको थियो । झन् त्यतिखेर जनआन्दोलन लगत्तै सपनाका फुलौराहरू वर्षाइएपछि सोझासिधाका त भुइँमा खुट्टा नभइराख्या बेला ती बुझक्कड, लालबुझक्कडहरूको त कुरै भएन ।
स्वायत्तताको बेल उता पाक्दै थियो । यता घरघरका छोराछोरीहरूको स्वायत्तता यति चढिसकेको थियो कि त्यो चढाइ हेर्न कोही कसैलाई फुर्सदै भएन । समतामूलक समाजरूपी जग उनीहरूबाट यति दह्रो रूपमा बस्नपुग्यो कि स्वयम् हरिमानकी छोरी टिल्ल पर्दै ग्याङफाइटमा परेर प्रहरी घेरामा परिसकेपछि मात्र हेक्का भयो— उत्थानले फुटाउन नसकिने ढलानको रूप लिई सकेको रहेछ ।











