काठमाडौँ – काठमाडौँको गोकर्णेश्वर नगरपालिका ४ माकलवारीस्थित दिलमाया आलेमगरको घरबाट सुनका विभिन्न गरगहना तथा नगदसहित ६५ लाख बराबरको धनमाल चोरी भएको छ।
पीडितको जाहेरीका आधारमा खोजतलास गर्ने क्रममा चोरीमा संलग्न पाँच जना भारतीय नागरिकलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले जानकारी दिए। उनीहरु उक्त घरमा फोहर टिप्ने बहानामा पसेर चोरी गरेका पाइएको छ।
उनका अनुसार फोहर उठाउने बहानामा उनीहरुले माघ २८ गते दिउँसो घरको ढोका फोडेर चोरी गरेका थिए। उक्त कार्यालयले चोरीमा संलग्न भएको अभियोगमा पक्राउ परेका भारतीय नागरिकलाई आज सार्वजनिक गरेको छ।
त्यसअघि अभियुक्तहरूले चोरेको सामानमध्ये काठमाडौँको बूढानीलकण्ठस्थित दिनेश घिमिरेको घरबाट सुन तथा नगद गरी रु २५ लाख बराबरको धनमाल बरामद गरिएको छ। गोकर्णेश्वर नगरपालिका बस्ने गीता राईको घरबाट सुनचाँदीका गरगहना तथा नगदसमेत गरी चार लाख १० हजार बराबरको धनमाल बरामद गरिएको प्रहरीले जनाएको छ।













