मुक्ति गौतम
च्याँ गर्दै ऊ जन्म्यो । पाँच वर्ष आमाको आँचलमा, बीस वर्ष स्कूलमा । पच्चीस वर्ष श्रीमतीको काखमा । पचास वर्षमा श्रीमतीलाई समयको बतासले उडायो । नातिनातिनाको स्याहार–सुसार गर्दागर्दै सत्तरी टेक्यो ।
नातिनातिना पखेटा लागेर कतातिर उडे ? ऊ आँखा पनि देख्दैन, कान पनि सुन्दैन । दाँत खुस्किएर चबाउन पनि सक्तैन । दमको रोग लाग्यो । राल र सिँगानले लछेप्रै भयो । नुहाउन सक्तैन । गन्हाउन पनि थाल्यो । छोराबुहारीबाट पर–पर हुँदै गयो । ऊ एक्लियो ।
अस्सी टेक्यो । कसले कतिखेर के खुवाउँछन् ? ऊ जान्दैन । नब्बेसम्मको कष्टकर जीवन यात्रामा कहिले भोकै, कहिले तिर्खै, कहिले पखाला, कहिले वान्ता गर्दै ‘कुम्भीपाक’को यातना पनि भोग्यो ।
बोली हरायो । मुख खोलिएन । आँखा डुलाएर नातिनातिना खोज्यो, बिचरा उसलाई के थाहा ? कुकुरको डाँगो डोहो¥याएर सपिङमल गएका छोराबुहारी पनि खोज्यो । अहँ कोही आएनन् । यता काल (समय) आइपुग्यो । आखिर आफ्नो जीर्ण पिण्ड (काया) ओछ्यानमा छाडिदिएर आफ्नो चेतना त्यो नदेखिने दैवलाई सुम्पिदियो र जीवनबाट मुक्ति पायो ।
ऊ मान्छेबाट मुर्दामा रूपान्तरण भयो । रामनाम सत्य हो भन्दै मलामिका लस्करले उसलाई कालीखोलाका डिलमा पु¥याए । ऊ दाउराको थुप्रोभित्र सुत्यो अनि पो उसैको छोरो हेमानको राँको बालेर बाबुका मुखमा आगो झोस्न आइपुग्यो ।