काठमाडौं । गैरकानुनी रुपमा चिनियाँ महिला नेपालमा बसिरहेको खुलासा भएको छ । चिनियाँ संस्था ‘चाइना फाउन्डेसन फर रुरल डेभलपमेन्ट’ की मुख्य निर्देशक सोउ सिच्याङ अवैधरुपमा नेपालमा बसेको पुष्टि भएसँगै सरकारले उनलाई डिपोर्ट (नेपालबाट निष्कासनको निर्णय) निर्णय गरिसकेको छ । उनी यस अघि जाजरकोटमा राहत विवरणको विषयमा विवादमा परेर कुटपिटमा परेकी थिइन् । गत मंसिर २० मा ती चिनियाँ महिलामाथि कुटपिटको आरोपमा माओवादी केन्द्रका वैकल्पिक केन्द्रीय सदस्य गोरख बहादुर केसीलाई पार्टीले स्पष्टीकरण समेत सोधेको थियो ।
उनलाई गैरकानुनी रुपमा नेपाल बसेकाले अध्यागमन विभागले १५ हजार रुपैयाँ जरिवाना गरेर छोड्ने निर्णय गरेको छ ।
गत मंसिर २८ गते अध्यागमन विभागका महानिर्देशक रुद्रसिंह तामाङले गृह मन्त्रालयलाई पत्राचार गर्दै सोउ सिच्याङ भिसा अवधिभन्दा बढी नेपाल बसेको पाइएकाले अध्यागमन ऐन, २०४० को दफा १० (४) बमोजिम १५ हजार रुपैयाँ जरिवाना गर्न प्रस्ताव गरेका थिए । सोही ऐनको दफा ९ (१) र ९ (१क) ले गरेको व्यवस्था तथा अध्यागमन कार्यविधि २०६५ को दफा ६ (३) देहायको २ (१०) बमोजिम उक्त भिसा वर्षमा नेपाल प्रवेश गर्न नपाउने गरी निष्कासन गर्नको लागि समेत निर्णयार्थ पेस गरेका थिए ।














