राजेश भट्टराई
“हामीले त बुहारी भन्दा पनि देवी नै भित्र्याएका रहेछौँ नि !” भने ससुराले ।
“अनि, उनी आएपछि त हामीलाई कति शान्ति महसुस भएको छ ।” थपिन् सासूले पनि ।
“कस्लाई कस्तो खान दिनु पर्छ, के रोग लागेको छ, विचार गरेर बनाउछिन्, खाना पनि ।”
“तपाईंलाई प्रेसर छ, नुन कम हालेर छुटै बनाइदिन्छिन् तरकारी । मलाई सुगर छ चिनी नहालेर बनाइदिन्छिन् चिया ।”
“यिनीलाई भित्राएदेखि त मैँले औषधीको डोज नै बढाउनु परेको छैन । डाक्टर साबले पनि कसरी यस्तो भयो ? पहिला त बढाएको बढाई गर्न पथ्र्याे भनेर सोध्नु भयो । मैले त बताएँ सबै यथार्थ ।”
अनि के भन्नु भयो त डाक्टर साबले ? उत्साहित हुँदै सोधिन् सासूले ।
मेरो पनि बिहे गर्ने उमेर भयो, त्यस्तै केटी खोज्दिनुस् न, भन्नुभयो । मैले त यिनकै बहिनीको कुरा गरेँ । आखिर नर्सिङ्ग पढेर सिध्याउनै लागेकी छन् उनले पनि ।”
“ठीक गर्नु भएछ । मलाई त घाँटीमा लगाएको सिक्री पनि छोरीलाई नदिएर यिनैलाई दिउँ कि झैँ लाग्न थालिसक्यो । आखिर मेरो पनि रहर पुग्न लागिसक्यो ।”
“दिऊँ दिऊँ केही हुँदैन । आखिर यिनले छोरीले भन्दा पनि बढी माया गर्छिन् ।”
कान्छी बुहारीको यसरी प्रशंसा गरिरहेको जेठी बुहारीले झ्यालको बाहिर पट्टी छेउमा लुकेर सुनिरहेकी थिइन् । जलन भयो उनलाई । हत्तपत्ती भान्सामा गईन् र भाँडा माझिरहेकी देउरानीलाई भनिन् । “कति दुःख गर्छेउ तिमीले, यो घरमा ? नगर भो । आखिर पछि कुनै दिन छुट्टिँदा तिमीलाई यो घर नपर्न पनि सक्छ । छोडेरै हिँड्न पर्न पनि सक्छ ।”
“भो दिदी म त गर्छु । बाँचुञ्जेल आफ्नो कर्म खाने हो । छोडेर हिँड्न पर्न सक्छ भनेर नगर्ने हो भने त, एकदिन यो संसार नै छोड्ने त हो नि सबैले ।” भाँडा पखाल्दै भनिन् ।













