राजन कार्की
धूवाँले घुरमैलो पारिदिएको छानोतिर हेर्दै, आफ्नो ओच्छ्यानमा उत्तानो पल्टिएर, वृद्धवृद्धा आफ्नो संयुक्त जीवनयात्राको मोटो पुस्तकभित्रबाट कुनै एक पानो फुत्त थुत्दथे र त्यसका कुरा सम्झिन पुग्थे । त्यस्तो पाना, घरी बूढोले थुतेर निकाल्थ्यो घरी बूढीले ।
यो खेप बूढोले निकालेको थियो ।
“म तिम्लाई कत्ति कर गर्थें, सुनका चुरा लगाऊ । सिक्री लगाऊ । औँठी नै भए पनि लगाऊ न ! कैलै मानिनौं । छोर्छोरी ठूला किलास् पुग्छन् तिन्लाई पढाम्न पर्दैन, भन्थ्यौ ।”
बूढीको पालो थियो । उनले कुनै पानो थुतिन् ।
“अफिसाँ काम गर्ने आफूचैं तर बरसाँ दुई जोरदेखी तीन जोर कपडा आङले कैले देख्न पायो ? छोरीचेली छे घरमा, राम्रो पढाईलेखाई नदिए, राम्रो गतिलो दाइँजो नदिए कुटुम्ब रिसाउँछन् भनेर टार्नु हुन्थ्यो ।”
वृद्धले आफ्नै ठाउँमा खुइया काढ्दै भन्यो, “छोरोभन्दा छोरी महगी परी त त्यो हिसाबले । विदेशसम्म पढ्न ठेलेर हुर्कायौं आखिर उतैको बुहारी भएर बसी ।”
निकैबेरपछि वृदाले अर्को पाना थुतिन् ।
“त्यो घर ! सञ्चय कोष झिकीझिकी, गाँस काटीकाटी …… बित्थामा बनायौं ।”
रात बाक्लिदैं थियो, बेला कुबेला स्याल कराउँथे ।
निकैबेर कोही बोलेनन् । अन्त्यमा बूढीलेनै सोधी— “टीका थाप्न त आउँछन् होला नी दशैंमा हैन ?”
बूढो केही बोलेन, दलिनतिर हेरिरह्यो । एकछिनपछि दुबै अङ्गालोमा निदाए । वृद्धाश्रम टाढा खोलापारी फेरि स्याल करायो ।













