मुक्ति गौतम
बिहान सखारै उठेर घर–कसिङ्गर, थलो–भकारो, न्वाइ–ध्वाइ, पूजा–पाठ सकेर मनमाया एक्लै बसेर चिया पिउँदै थिइन् । हजुरआमाको मुख बोलाउ साथी बसेकी नातिनी उठेकै थिइन ।
अचानक गीता र रीता आइपुगेर आमासँग हतार हतार विभिन्न पोजमा सेल्फी खिच्न थाले । टिकटक बनाए, हत्तपत्त हेप्पी मदरडे लेखेर आ–आफ्ना फेसबुकका भित्ताहरूमा सेयर गरिहाले ।
ए झन्डै बिर्सेछ आमा ! आज आमाको मुख हेर्ने दिन । गीता र रीताले एउटा एउटा बिस्कुटका पाकेट आमाका हातमा राखिदिए ।
गीता—हेर त मेरा तीनसय लाइक र दुईसय कमेन्ट भएछन् । रीता—मेरा पाँचसय लाइक र तीनसय कमेन्ट हेर त गीता । तेराभन्दा मेरा धेरै ।
के गर्दै छन् यी केटीहरू भन्ने कुनै अत्तो पत्तो नपाएकी मनमायाले आधा–आधा लिटरका दुइटा बोतलमा दूध दिँदै भनिन्— नानीहरू भोकाउँछन्, छिटो–छिटो घर जाओ ।













