पदम पौडेल
आगोको रापले पग्लिएर अरूलाई उज्यालो दिइरेहको मैनबत्तीजस्तै अवस्था भएको कुशले बताउँछन् ।
तिमी त देशकै प्रतिष्ठित निर्यातकर्ता, तिम्रा उत्पादनहरू विश्वका धेरै देशमा रुचाइएका छन् तर पनि निराश— मैनबत्तीको मधुरो प्रकाशमा सँगै बसेर खाना खाइरहेका लभले जिज्ञासा राख्छन् ।
समय सापेक्ष परिमार्जित नभएको सरकारी नीति, पर्याप्त लगानीको अभाव, वित्तीय संस्थाहरूको थिचोमिचो, सरोकार पक्ष मौन, अनि कसरी सम्भव छ माग बमोजिम निर्यात— गिलासको चिसो पानी पिउँदै पीडा व्यक्त गर्छन् ।
जलेर नष्ट हुनै लागेको मैनबत्तीलाई परिवर्तन गर्दै गर्दा लभ प्रश्न गर्छन् — सरकारी नीति निर्माण तथा परिमार्जनका क्रममा तिमीहरूको राय सल्लाह लिँदैन र ?
सरोकारवालाहरूको सुझाव अनुसार नीति बनेको भए देशले आर्थिक क्रान्तिमा छलाङ मारिसकेको हुने थियो — बत्ती मुनिको भन्दा पनि बढी अँध्यारो अनुहार बनाउँदै भन्छन् ।
कम लगानी, विना झन्झट मनग्य आम्दानी हुने वस्तुको निर्यात सुरु गर्नुहोस् — छेवैको टेबलमा बसेका व्यक्ति अनायासै बोल्छन् ।
व्यवसायबाट हतोत्साहित भएका कुश, कौतुहलताका साथ प्रश्न गर्छन्— कस्तो वस्तु ?
प्रफुल्लित मुद्रामा ती व्यक्ति भन्छन्— ‘मान्छे ।’
साभारः लघुकथा कुनोबाट











