सोम कुमार सुब्बा
बिहान बिहानै, कहाँ घुमेर आइस् ? आमाले सोधिन् ।
पास्टर बाबूले खसी काट्दै रहेछ, मासु ल्याएर आको नि ! छोरोले भन्यो ।
आज बुद्ध पूर्र्णिमा हो, मासु खान हुन्न भन्ने कुरो याद छैन ? आमा चर्किइन् ।
केही हुँदैन हाउ आमा ! छोरोले लत्याउन खोज्यो ।
त्यसो भनेर हुन्छ ! आफ्नो धर्म, कर्म र संस्कार बचाउनुपर्छ, नत्र पाप लाग्छ ! आमाले सुझाइन् ।
हुन्छ आमा, त्यसो भए भोलि खाउँ न त ! भन्दै छोरोले मासु फ्रिजमा हाले ।
अघिदेखि वार्ता सुनिरहेको सात वर्षीय कान्छो छोरोले अचम्मित मान्दै सोधे–
“आमा ! भोलि यही मासु खाँदा हामीलाई पाप लाग्दैन त ?”
साभारः लघुकथा कुनोबाट











