काठमाडौँ । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले चिनबाट किनेका ५ वटा जहाजमा साढे ३ अर्व बढी घाटा बेहोर्ने भएको छ । वर्षौँदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै थन्किएको (ग्राउन्डेड) ५ वटा चिनियाँ जहाज लिलामीमा बिक्री गर्न लागेसँगै घाटा बेहोर्नु पर्ने भएको हो ।
यही २१ डिसेम्बर, २०२३ अर्थात् पुस ५ गते एक सूचना जारी गर्दै निगमले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई चिनियाँ जहाज बिक्रीका लागि अन्तर्राष्ट्रिय बोलकबोल आह्वान गरेको छ । सन् २०१४ देखि पटकपटक गरेर ५ वटा चिनियाँ जहाज ल्याएको निगमले कुनै पनि जहाज राम्रोसँग चलाउन सकेन ।
कम्पनीले दुईवटा एमए–६० र तीनवटा वाई–१२ ई जहाजमा दुईवटा अनुदानमा र तीनवटा सुलभ मूल्यमा खरिद गरेको हो । जहाज खरिदका लागि कूल ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च भएको छ । तर, चिनियाँ जहाज ६ वर्ष पनि राम्रो उडान नभर्दै ग्राउन्डेड हुनपुग्यो । आर्थिक वर्ष २०७७–७८ देखि निरन्तर ग्राउन्डेड जहाजका कारण निगमलाई १० अर्बमाथि घाटा लागिसकेको छ ।
साढे ६ अर्वमा किनेको जहान साढे २ अर्बमा बिक्री गर्ने तयारी
वायुसेवा निमगको ट्रेन्डर सूचना अनुसार करिब २ अर्ब ६० करोड रुपैयाँ हाराहारीमा ५ वटा चिनियाँ जहाज बिक्री गरिने भएको छ । जबकि यी जहाज खरिदमा ६ अर्ब ६७ करोड १० लाख रुपैयाँ खर्च भएको छ । हालसम्मको सञ्चालन तथा व्यवस्थापन खर्च, मेन्टेनेन्स खर्च गरी १० अर्ब हाराहारी खर्च भइसकेको छ । तर, निगमले घाटामा नै भएपनि कूल १९,५७७,७८४ अमेरिकी डलर अर्थात् करिब २ अर्ब ६० करोड रुपैयाँ बराबरको न्यूनतम मूल्यमा जहाज बिक्रीमा राखेको हो ।
निगमले विक्रीका लागि खोलेको टन्डर अनुसार २ वटा एमए–६० र ३ वटा वाई–१२ ई जहाज चिनियाँ कम्पनी छिआन एयरक्राफ्ट इन्ड्रस्टी (ग्रुप) ले उत्पादन गरेको हो । यी जहाजहरूले कूल २४ हजार १७४ घण्टा मात्र उडान भरेका छन् ।
दुईवटा एमए–६०, एन–एकेक्यू र एन–एकेआर जहाजले क्रमशः २ हजार ९९६ घण्टा ३२ मिनेट अर्थात् ३ हजार ३१६ साइकल र ३ हजार ७९ घण्टा ७ मिनेट उडान भरेका छन् भने चार वटा वाई–१२ ई जहाजहरू कूल १८ हजार ९८ घण्टा उडेका छन् ।

निगमको ट्रेन्डर आह्वान अनुसार एमए–६० एयरक्राफ्टको मूल्य ८,२२५,५०१ अमेरिकी डलर अर्थात् करिब १ अर्ब ८ करोड ५७ लाख रुपैयाँ तोकिएको छ । यसैगरी एमए–६० कै अर्को एयरक्राफ्ट जहाजको मूल्य ४,९२२,२३५ अमेरिकी डलर अर्थात् करिब ६४ करोड ९७ लाख रुपैयाँ तोकिएको छ ।
यसैगरी तीनवटा वाई–१२ सेग्मेन्टका जहाजहरुमा, वाई–१२ ई, ९–एन–एकेभीको न्यूनतम मूल्य २,४१२,६७१ यूएस डलर (करिब ३१ करोड ८४ लाख रुपैयाँ), वाई–१२ ई, ९एन–एकेटीको मूल्य २,३५८,८६० यूएस डलर (करिब ३१ करोड १३ लाख रुपैयाँ) र वाई–१२ ई ९एन–एकेएसको मूल्य १,६५८,५१७ यूएस डलर अर्थात् करिब २१ करोड ८९ लाख रुपैयाँ तोकिएको छ ।













