उत्तरपूर्वी चीनको एक कोइला खानीमा दुर्घटना हुँदा १२ जनाको मृत्यु हुनाको साथै १३ जना घाइते भएको राज्य नियन्त्रित सञ्चारमाध्यमले बिहीबार जनाएको छ। स्थानीय समयअनुसार घटना दिउँसोको ३ः५० बजे हेइलोङजियाङ प्रान्तको जिक्सी सहरको बाहिरी भागस्थित कोईला खानीमा भएको राज्य प्रसारक सिसीटिभीले जनाएको छ।
दुर्घटनामा १२ जनाको मृत्यु तथा १३ जना घाइते भएको तथा घाइतेलाई उपचारको लागि अस्पताल पठाएको तथा थप अनुसन्धान भइरहेको सिसीटिभीले जनाएको छ। आधिकारिक तथ्याङ्कअनुसार गत वर्ष मात्र एक सय ६८ वटा खानी दुर्घटनामा दुई सय ४५ जनाको मृत्यु भएको थियो।
गत नोभेम्बरमा हेलोङजियाङस्थित कोइला खानीमा भएको दुर्घटनामा ११ जनाको मृत्यु भएको थियो। यसैगरी सेप्टेम्बरमा चीनको गोन्झाउ प्रान्तको एक कोइला खानीमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको थियो।

गत फेब्रुअरीमा उत्तरी भित्री मङ्गोलिया क्षेत्रमा कोइला खानी भत्किँदा दर्जनौं मानिस र सवारी साधनहरू भग्नावशेषमुनि पुरिएका थिए । अधिकारीहरूले महिनौंसम्म मृतकको अन्तिम सङ्ख्या सार्वजनिक गरेनन्, तर जुनमा मात्र ५३ जनाको मृत्यु भएको खुलासा गरेका थिए । चीनमा खानी दुर्घटनामा परी वर्षेनी ठूलो संख्याका नागरिक ज्यान गुमाउन बाध्य हुने गर्दछन् ।
पर्याप्त सुरक्षा व्यवस्थाको अभावमा चीनमा कोइलाखानीमा यस्ता दुर्घटना बेलाबेलामा भइरहने गरेका छन। ठूला सरकारी उद्योगको तुलनामा निजी क्षेत्रबाट सञ्चालित कोइला उद्योगमा सुरक्षा व्यवस्था कमजोर रहने गरेको छ । कोइला उत्पादनमा सुधार ल्याउन तथा गैर कानुनी उद्योगहरु बन्द गर्न पहल गरिए पनि खानी दुर्घटनाका समाचारहरु आइरहने गरेका छन् ।













