ज्वरो आउनु भनेको संक्रमणविरुद्ध जुध्ने शरीरको आफ्नै तरिका हो । कतिपय अवस्थामा ज्वरो एक भाइरल संक्रमण हो, जुन बिस्तारै निको हुन्छ । शिशुलाई ज्वरो आउँदा अभिभावक पनि पीडित हुन्छन् । शिशुलाई उच्च ज्वरो आउँदा निम्न विषयमा बिचार पु-याउनुपर्छ—
बच्चालाई ज्वरो आयो भन्दैमा एन्टिबायोटिक दिन हतार नगर्ने । कतिपय अवस्थामा १०१, १०२, १०३ डिग्री ज्वरो आए पनि एन्टिबायोटिक आवश्यकता पर्दैन । सामान्य प्यारासिटामोल सिरप खुवाएर पनि ज्वरो घटाउन सकिन्छ । ब्याक्टेरियाको संक्रमणले ज्वरो आएको चिकित्सकले पहिचान गरेपछि मात्र एन्टिबायोटिक दिइन्छ ।
शरीरको तापक्रम घटाउन मनतातो पानी वा चिसो पानीमा नरम लुगा भिजाएर टाउको र पाइतालामा राखिदिने । तापक्रम बढ्नेबित्तिकै यो प्रक्रियालाई दोहो-याउन सकिन्छ । संक्रमणलाई न्यून गर्न पनि बारम्बार बिरामीको हात मनतातो पानीले धोइदिनुपर्छ । खाना खानुअगाडि र पछि एन्टिसेप्टिक प्रयोग गर्नुपर्छ ।
बच्चाले पिसाब गरेको छ, छैन भन्ने ख्याल गर्ने । ज्वरो आउँदा बच्चाले ५–६ घन्टासम्म पनि पिसाब फेरेको छैन भने उसलाई डिहाइड्रेसन भएको हुन सक्छ । यस्तो अवस्थामा अस्पताल लैजानुपर्छ ।
फलफूल, घरमै बनाएको फलफूलको जुस, घरमै बनाएको अन्य खानेकुरा खुवाउँदा बच्चाको प्रतिरोधी क्षमता राम्रो हुन्छ । ज्वरोसँगै बच्चालाई वान्ता र पखाला लागेको छ भने उसलाई जबर्जस्ती नखुवाउने । बरु झोलिलो कुरा र पानी पिउन दिने । फलफूलको जुस र पानीले डिहाइड्रेसनबाट बचाउँछ । बच्चाको खानेकुरामा प्रशस्त सागसब्जी (प्रोबायोटिक डाइट) समावेश गर्ने । यसले पाचन प्रक्रियामा सहयोग गर्नुका साथै रोग प्रतिरोध क्षमतालाई सुधार्छ ।
बच्चाको ज्वरो तीन दिनसम्म पनि घटेन र दिनमा पाँचपटकसम्म वान्ता गरेमा बाल विशेषज्ञको सहयोग लिनुपर्छ । अभिभावकको स्याहार सुसारले पनि बच्चालाई छिटो निको हुन सजिलो बनाउँछ ।













