पाल्पा – पाल्पामा पहिलो पटक आज एक दिने सुन्तला महोत्सव गरिएको छ । सुन्तलाको बजार प्रवर्द्धन र सुन्तला उत्पादन गर्ने किसानलाई प्रोत्साहनका लागि महोत्सवको आयोजना गरिएको आयोजक रिब्दिकोट गाउँपालिका(७ वडा कार्यालय, पालुङ्मैनादीले जनाएको छ ।
मेलाको व्यवस्थापन तथा समन्वय गरिरहेको मैनादी कृषि सहकारी संस्थाका अनुसार प्रभात माविको प्राङ्गणमा आयोजना गरिएको सुन्तला महोत्सवमा सुन्तलाका स्टल, विभिन्न जातका सुन्तलाका बिरुवा तथा आवश्यक यन्त्र उपकरणको प्रदर्शन, निस्शुल्क माटो परीक्षण, नमुना सुन्तला बगैँचा अवलोकन, सुन्तलाको जुस, जाम, सलाद प्रदर्शन गरिएको छ ।
मेलामा सुन्तला खाने प्रतियोगिता, कृषि पर्यटनको नमुना टोल प्रदर्शन, पहिलो व्यावसायिक खेती गर्ने किसान सम्मानलगायतका कार्यक्रम राखिएको रिब्दीकोट–७, का वडाध्यक्ष दानबहादुर कुँवरले जानकारी दिए । पाल्पाको रिब्दीकोट र रैनादेवी छहरा गाउँपालिका सुन्तला उत्पादन हुने क्षेत्र हुन् ।
किसानले सुन्तला उत्पादनबाट वार्षिक एक लाखदेखि २० लाख रुपैयाँसम्म आम्दानी गर्दै आएको रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए । पाल्पामा उत्पादन भएको सुन्तला बुटवल, भैरहवा, पोखरा, काठमाडौँ, जनकपुरलगायतका ठाउँमा निर्यात हुँदै आएको छ ।
पाल्पामा पछिल्लो समय अन्य खेती छाडेर पनि किसानहरू सुन्तला खेतीतर्फ किसान आकर्षित हुँदै गएका छन् ।













