काठमाडौं । एमालेका प्रदेश अधिवेशनको नतिजाले पार्टी अध्यक्ष केपी ओली क्रमशः कमजोर बन्दै गएको देखिन थालेको छ । हालसम्म पाँच प्रदेशका नेतृत्व चयन भइसकेको छ । जसमा ओलीले चाहेका उम्मेदवार बागमती र कोशी प्रदेशमा मात्र विजयी भए । लुम्बिनी, कर्णाली र गण्डकीमा ओलीले नचाहेका उम्मेदवार विजयी भएका छन् ।
पार्टीका प्रदेश अधिवेशनमा देखिएको शक्ति संघर्षले एमालेभित्र अध्यक्ष केपी ओलीको वर्चस्व र नेतृत्वमा चुनौती देखिन थालेको छ । ओलीको कठोर निर्देशन र चाहनाविपरीत प्रदेश अधिवेशनहरूमा प्यानल प्रतिस्पर्धाबाट नेतृत्व चयन भएका छन् ।
लुम्बिनीबाट सुरु भएको प्रदेश अधिवेशन बागमती हुँदै कर्णाली, कोशी र गण्डकीसहित पाँचवटा प्रदेशमा सम्पन्न हुँदा अध्यक्ष ओलीको सहमतिको निर्देशन अस्वीकार्य देखिएको छ । ओलीको निर्देशनलाई चुनौती दिँदै प्यानल निर्माणमा पदाधिकारी, स्थायी समिति, पोलिटब्युरो र केन्द्रीय कमिटीकै नेताहरू प्रत्यक्ष संलग्न भएका छन् । अब कारबाही गर्ने हैसियतसमेत ओलीमा नरहने अवस्था बन्दै गएको छ ।
एमालेको गण्डकी प्रदेश अध्यक्षमा नवराज शर्मा प्यानलसहित विजयी भएका छन् । उनी प्रतिस्पर्धी मायानाथ अधिकारीलाई १६६ मतले हराउँदै विजयी भएका हुन् । शर्माले ५३१ मत पाए भने अधिकारीले ३६५ मत प्राप्त गरे । निवर्तमान अध्यक्ष शर्माको प्यानललाई उपाध्यक्ष विष्णु पौडेल–उपमहासचिव पृथ्वीसुब्बा गुरुङ समूहको साथ थियो । केन्द्रीय सदस्य अधिकारीको प्यानललाई महासचिव शंकर पोखरेल–स्थायी कमिटी सदस्य खगराज अधिकारी पक्षधरले साथ दिएका थिए । तर चुनावी प्रतिस्पर्धामा शंकर पोखरेल–खगराज अधिकारी पक्षका मायानाथ अधिकारीको प्यानलले नराम्रो हार व्यहोरेको छ ।
लुम्बिनी, कर्णालीपछि गण्डकी प्रदेशमा ओली पक्ष बढारिएको छ । लुम्बिनीमा ओली पक्षका केही पदाधिकारी विजयी भए पनि कर्णाली र गण्डकी प्रदेशमा भने ओली पक्षका एकजना पनि आउन सकेनन् । ओलीसँगै उनले च्यापेका महासचिव शंकर पोखरेलको अवस्था निकै नाजुक बनेको छ । पोखरेलका मान्छेले कतै पनि जितेका छैनन् । महासचिव जस्तो नेताले चाहेका उम्मेदवारले नजित्नु भनेको राम्रो संकेत होइन ।













