मनाङ – हिमाली जिल्ला मनाङको अब मनाङमै खपत हुने भएको छ । यहाँ उत्पादित स्याउ अन्तर्राष्ट्रिय बजारसम्म पुग्ने भए यसको परिकारमा फेर्दै विश्व बजारमा निर्यात गर्ने उद्देश्यले स्याउको वाइन उत्पादनको सुरुआत गरेको छ ।
मनाङ बेभरेज प्रालिले मनाङ ङिस्याङ गाउँपालिका–४ हुम्देमा वाइन कारखाना सञ्चालनमा ल्याई कम्पनीले स्याउको उत्पादनलाई परिस्कृत गर्ने उद्देश्यले वाइन कारखाना सञ्चालनमा ल्याएको हो । यो कारखाना सञ्चालनमा आएसँगै अब मनाङको स्याउ मनाङमै खपत हुने भएको छ । अब यहाँको स्याउको मुख्य बजार पनि मनाङ हुने देखिएको छ ।
बेभरेजले सञ्चालनमा ल्याएको यो कारखानाले वार्षिक दुई लाख लिटर वाइन उत्पादन गर्ने क्षमता रहेको छ । यसबाट उत्पादित वाइन पनि कम्पनीले सार्वजनिक गरिसकेको छ । कम्पनीले मनाङको तीन हजार पाँच सय मिटर उचाइमा रहेको साब्जे लेकमा कार्यक्रम गरी ‘मनाङ भ्याली वाइन’ सार्वजनिक गरेको थियो ।
उत्पादित वाइनको मूल्य रु एक हजार २५ निर्धारण गरिएको छ । “हामीले तीन वर्षको कडा मिहिनेत र अध्ययन तथा अनुसन्धानपछि वाइन कारखाना सञ्चालनमा ल्याएका छौँ, यसमा अन्तर्राष्ट्रियस्तरका मापदण्ड पूर्णरूपमा पालना गरेका छौँ”, मनाङ बेभरेजका प्रबन्ध निर्देशक आश्रय रञ्जितकारले भने, “यसले मनाङमा स्याउ उत्पादनलाई थप टेवा पुग्नेछ भने बजार अभाव समस्या पनि अन्त्य गर्नेछ ।”













