असल बन्न, स्वाथ्य, शरीर, आत्मा, मन, मस्तिष्क र शरीर राम्रो रहनको निमित्त सदैव सज्जनहरुको महान् व्यक्तिको अनुशरण गर्नु र तिनीहरुको दैनिक व्यवहारबाट शिक्षा ग्रहण गर्नुपर्दछ । जो सधैँभरी पवित्र रहेका ज्ञानी व्यक्ति छन् ती मानिस देख्दा मन आनन्दले रमाउँछ । जस्तो भान्सामा गोलभेँडा र धनीयाको चटनीमा तीलको उपस्थिति मिश्रण हुँदा जिब्रो मूलको पानी रसाएसरि रसाउँदछ त्यस्तै गुणी व्यक्तिको उपस्थितिमा समुदाय नै रमाउँदछ । तिनको जीवन कति शान्त एवम् आनन्दपूर्वक बित्दछ । तीनको प्रभाव ती नरहँदा पनि मधुर र अपूर्व हुन्छ ।
त्यसकारण मनमा स्वच्छ भावना मात्र अघि सार्नुपर्दछ । खराब भावनाले सलाईको १ काटिले ठूलो शहर, जंगल सखाप पारेजस्तै हाम्रो शरीररुपी मनमस्तिष्कलाई एकाएक गरी जलाएर सखाप पार्दछ । मनले नै सबैलाई जलाएर खाक पार्दछ । मन नै रोगहरुको मुहान हो, जरो हो । त्यसकारण मनलाई र भावनालाई सगरमाथाको टाकुराजस्तो उच्च, दूधकुण्डको जलजस्तो कञ्चन र स्वच्छ राख्न अभ्यास गरौँ । यति अभ्यास गरेमा हामी उत्तरतर्फ धु्रवतारा चम्केजस्तो दक्षिणतर्फ अर्काे तारा भएर अवश्य चम्कनेछौँ — गौतमबुद्ध जस्तै शान्तिको तारा बनेर । जुन कुराको शिक्षा बच्चादेखि नै दियौँ भने पक्कै पनि समग्रको भविष्य उज्ज्वल हुनेछ ।













