१. सत्यको खोज भनेको जीवनको अस्तित्वको रहस्यको खोज गर्नु हो, कुनै व्यक्तिको गुणको पुजारी बन्नु होइन ।
२. तिमी बुद्ध बन, महावीर बन, शंकराचार्य वन, कृष्ण बन, तब केही गर्न सक्छौ । यिनले परिवर्तन दिए, प्रथा हैन । तर यिनका अनुयायीले प्रथालाई जन्माए । तिमी प्रथाका दास नबन । मतको अनुयायी बनेर नबाँच । तिमीले त आफूलाई मुक्त गर्नु छ ।
३. भगवान, सिद्ध र महात्मा कसैका नक्कल होइनन् । म एक योगी हुँ । अरुले मलाई बुद्धको अवतार घोषित गर्ने प्रयत्न गरे । म आफ्नो पहिचानमा अरुको चिह्न किन लगाऊँ । म आफ्नो शरीर र मनको प्रभुतामा बाँच्दछु । भित्र आत्म ब्रह्मा बनेर रहन्छु । जीवात्मा मेरो पहिचान हो । आत्मालाई ब्रह्ममय बनाउनु मेरो धर्म हो । आत्ममय भएर अन्तर्यात्रामा लाग्दछु । म चाहन्छु कि म जे देखिरहेको छु त्यो तपाईं पनि देख्नुहोस् ।
४. तिमीलाई आफ्नो कर्मको फल मिल्दछ । कर्मले नै भोग–भाग्य बनाउँछ, प्रारब्ध र संस्कार बनाउँछ । कर्मले नै साक्षात्कारको ढोका खोल्दछ । आशीर्वादको बाटो बनाउँछ । कर्मजस्तो महान् श्रम अरु हुनै सक्दैन । कर्म जस्तो महान् साधना अर्काे छैन । कसैको आशीर्वादको भर कहिलेसम्म पर्छाै ? तिम्रा कर्मले नै आशीर्वादको वर्षा गराउने छन् ।
५. सत्य तिमीबाट टाढा छैन । तिमी भित्र सुन्ने कान र हेर्ने आँखा छन् । अलिकति प्रयास गर, जीवनको सत्य प्रकाशित हुनेछ । बाहिर आँखामा पर्दा लाग्न सक्छ, भ्रम पर्न सक्छ तर भित्र सक्दैन । जगतसँग केही लिनु छ केही दिनु छ, त्यो तिम्रो हुन सक्दैन । सबै लेनदेन स्वीकार गर्ने, प्राप्त गर्ने क्षमता तिमीले पैदा गर्नु पर्नेछ ।
६. व्यक्तिलाई परमात्मा मानेर किन समर्पित भएका छौ ? एक कथाकार गुरु कसरी बन्न सक्छ । कसैले तिमीलाई जीवनभर मुर्ख बनाएर सेवा लेवस र अघि बढ्ने बाटो नदेखावस । यो भन्दा उत्तम त आफ्ना पवित्र कर्मलाई नै गुरु मान । मीठा कुराले परमात्मा पाइन्न । तर हृदयको आवाज परमात्मासम्म पुग्दछ । हृदयमा प्रेम, करुणा, श्रद्धा, दया छ श्रमबाट यो प्राप्त हुन्छ श्रम तपस्या हो, कर्मको रुप हो । श्रम नगरी केही पाइन्न ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट













