काठमाडौं । सर्वोच्च अदालतले बालुवाटारस्थित ललिता निवास जग्गा व्यक्तिको नाममा लैजाने प्रकरणमा नीतिगत निर्णय गर्ने तत्कालीन प्रधानमन्त्रीमाथि पनि अनुसन्धान सुरु गर्न आदेश दिएलगत्तै देश छाडेका एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल अहिले स्विटजरल्यान्डको जेनेभामा छन् ।उनी सोमबार त्यसतर्फ प्रस्थान गरेका थिए ।
पार्टी प्रवासी एकता मञ्चले आयोजना गर्ने कार्यक्रममा भाग लिन युरोप भ्रमणमा गएका नेपालले ललिता निवास प्रकरणबारे मुख खोलेका छन् । उनले एक मिडियाकर्मीलाई जेनेभामा गरेको कुराकानीको भिडियो क्लिप अहिले ट्विटरमा व्यापक पारिएको छ । काइँल्दाइ नामक ट्विटर ह्यान्डलमा नेपालले आफूले केही नबिराएकाले डराउनुपर्ने कुनै कारण नभएको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘मैले कुनै बिराएको छैन । नबिराउनु नडराउनु । मैले बदमासी गरेको छैन । भ्रष्टाचार गरेको छैन । म नितान्त असल मनसायले मात्रै बालुवाटार विस्तारको मास्टर प्लानको पक्षमा प्रक्रिया अगाडि बढाउने पक्षमा रहेको हँु । कुनै पक्षबाट पनि मैले अनुचित काम गरेको छैन ।
त्यसैले कुनै पनि व्यक्तिलाई उन्मुक्ति दिने होइन, छानविन गर्ने, बदमासी गरेको भए दण्ड गर्ने । मैले गरेको छैन भन्ने मलाई पूरै विश्वास छ । मैले कुनै राष्ट्रका विरुद्धमा, राष्ट्रिय सम्पत्तिको विरुद्धमा, भ्रष्टाचारको पक्षमा मुछिने कुनै पनि काम गरेको छैन ।
त्यसो भएको हुँदा मैले कुनै अदालतको निर्णयका बारेमा कुनै केही भन्नुपर्ने छैन ।’













