काठमाडौं – सय किलो सुन तस्करी प्रकरणमा पक्राउ अभियुक्तविरुद्ध हालसम्म राजस्व चुहावटअन्तर्गत अभियोगमा मात्रै अनुसन्धान भएकोमा अब अवैध सुन चोरी–पैठारी तथा संगठित अपराधअन्तर्गत अनुसन्धान हुने भएको छ।
राजस्व अनुसन्धान विभागबाट कागजातसहित अभियुक्तको जिम्मा लिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ९सिआइबी०ले ‘विशेष कार्यालय’ नै खोलेर एसपी सञ्जयसिंह थापाको नेतृत्वमा विशेष टोली गठन गरी अनुसन्धान गर्न लागेको हो ।
सिआइबी परिसरमै खोलिने ‘विशेष कार्यालय’मा अनुसन्धानका लागि आवश्यक सम्पूर्ण उपकरण जडान गरिँदै छ । दोस्रो तलामा रहने कार्यालयमा उक्त घटनाको अनुसन्धानसँग सम्बन्धितबाहेकका प्रहरी अधिकारीलाई प्रवेश निषेध गरिनेछ । पक्राउ अभियुक्तविरुद्ध सिआइबीले सोही कार्यालयस्थित ‘विशेष कोठा’मा राखेर केरकार गर्नेछ र अनुसन्धान प्रतिवेदन तयार गर्नेछ । एसपी थापा नेतृत्वको विशेष टोलीले मंगलबारबाट अनुसन्धान थाल्ने तयारी छ ।
टोलीमा सिआइबीका उत्कृष्टमध्येका डिएसपी, इन्स्पेक्टर र जुनियर अधिकृत सहभागी छन् । टोलीलाई प्रत्यक्ष सुपरिवेक्षण तथा निर्देशन दिने काम भने सिआइबीका डिआइजी यज्ञविनोद पोखरेलले गर्नेछन् । अनुसन्धानको सम्पूर्ण नेतृत्व भने सिआइबी प्रमुख एआइजी किरण बज्राचार्यले नै गर्नेछिन् ।
‘अभियुक्तविरुद्ध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले सोमबार नै सात दिनको म्याद थपिदिएको छ । अनुसन्धानको फाइल मंगलबारबाट खोलिन्छ। अन्यमा झैँ प्रहरीले यस घटनामा पनि व्यावसायिक ढंगले अनुसन्धान गर्नेछ । घटनाको ‘कोर एरिया’सम्म पुगेर तथ्य बाहिर ल्याउन प्रहरीको कोसिस रहनेछ,’ एआइजी बज्राचार्यले भनिन् । यो समाचार आजको नेपाल समाचार पत्र दैनिकमा प्रकाशित छ।













