धेरै दिनदेखि छिमेकको एक बादशाहसँग हजरत उमरको लडाइँ चलिरहेको थियो । सन्धि गर्ने प्रस्ताव आएपछि हजरत उमर एउटा उँटमा चढेर निस्किए । उँटको डोरी समाउने एउटा कामदार पनि उनीसँगै थियो ।
चार कोस हिँडिसकेपछि हजरत उँटबाट ओर्लिए र कामदारको हातबाट डोरी लिएर भने, जाऊ अब तिमी माथि बस । डोरी म समाएर हिँड्नेछु । कामदारले केही बुझेन, उसले भन्यो, मालिक यो कसरी हुनसक्छ ?
किन हुनसक्दैन ? हजरतले भने, हिँड्दा त सबै थाक्छन् । जब तिमी थाक्छौ तिमी उँटमा बस र जब म थाक्छु तब म उँटमा बस्छु । यहाँ भेदभावको प्रश्नै छैन ?
लाखौँ पटक अस्वीकार गरे पनि नोकरले उँटमा बस्नु नै प¥यो । यसरी चार चार कोसको बाटो हिँड्दै दुवैले आ–आफ्नो स्थान बदलिरहे ।
चढ्दै ओर्लिँदै गर्दा हजरत उमर त्यो बादशाहको राजधानी पुगे । संयोगले जब उनी शहरमा पुगे तब गुलाम उँटमाथि थियो र हजरत उमर उँटको डोरी समाएर हिँडेका थिए ।
बादशाहको वजीरले गुलामलाई सलाम गरे तब गुलाम अप्ठ्यारोमा परेर भने, म त नोकर हुँ । बादशाह हजरत उमर त उहाँ हो, जो उँटको डोरी समाएर उभिएका छन् ।
यो सुनेर सबै छक्क परे । आखिर यो कुरा के हो ? जब यो कुरा त्यहाँका बादशाहसम्म पुग्यो तब उनले हजरत उमरलाई सम्मान गरे र भने, जो बादशाहले आफ्नो नोकरसँग यस्तो व्यवहार गर्छ ऊसँग कस्तो लडाइँ र कस्तो सन्धी ? आजदेखि हजरत मेरा गुरु हुन् र म उनको चेला ।
साभारः ‘विश्वका उत्कृष्ट प्रेरक प्रसङ्गहरु’ पुस्तकबाट













