पोखरा, ५ साउन । छोराछोरी साना छन्, पाँच लिटर दूध दिने गाई बाच्ने अबस्थामा छैन, तीन छोराछोरीले पिउँदै आएको दूध बन्द भएको पनि दुई हप्ता पुग्यो, अब अर्को गाई किन्दा ऋण लाग्छ, गाई किनौ भनेपनि गाईबस्तुमा लाग्ने लम्पी स्किन रोग नियन्त्रणमा आउने ठेगान अझै देखिएको छैन ।
पोखरा–३२ मालेपाटन निवासी २५ वर्षीया अप्सरा बसौला अन्तिम अबस्थामा पुगेको गाईका्े मुखमा पानी हाल्दै यस्तो दुःख पोख्दै हुनुहुन्थ्यो । लम्पी स्किन रोगका कारण गाईको मुखको गिजा सुनिएपछि गाईले घास र दाना परै जाहोस् पानीसमेत पिउन सकेको छैन ।
लम्पी स्किन रोगले सास फेर्नसमेत कठिन भइरहेको गाईलाई कटेरामा कुर्दै रामराम के देख्नु प¥यो कि छिट्टै निको भइदिए हुन्थ्यो, कि छिटो मरिदिए हुन्थ्यो यस्तो अपराध देख्न कसैलाई नपरोस् । बसौलाको गोठको गाईलाई मात्र हैन छिमेकीका गाईगोठमा समेत यो रोग देखा परेको छ ।
बसौलाकै छिमेकी देवीप्रसाद सापकोटका तीन गाई मध्ये दुईटालाई लम्पी स्किन रोग देखा प¥यो, बिहान बेलुका १४ लीटर दूध दिने गाई लम्पी स्किन रोगले लग्यो । ‘पशु चिकित्सक ल्याइ उपचार गर्दा समेत बचाउन सकिन,उपचार पनि मंहगो, देवीप्रसाद सापकोटाले भन्नुभयो– रोग लागेको अर्को एउटा गाई भने बाच्ने आशा जागेको छ, औषधि उपचारका कारण दानापानी खान सुरु गरेको छ, घाउहरु पनि सुक्दै गइरहेका छन् ।’
‘बर्षा नभएकै कारण धान खेतसमेत रोप्न पाइएको छैन, यही बेला किसानले अर्को बज्रपात सहनुपरेको छ, सापकोटाले भन्नुभयो– किसानले पालेका गाईबस्तुमा लम्पी स्किन रोगको महामारी फैलिदा किसान थप मारमा परे, हाम्रो पीडा कस्ले सुन्ने । पशु चिकित्सकले पनि यो रोगको ठ्याक्कै औषधि हुँदैन, विस्तारै भ्याक्सिन मार्फत ज्वरो घटाएर घाउहरु सुकाउँदै जाने सल्लाह दिन्छन् ।’
‘लैनो गाई रोगकै कारण म¥यो, त्यसले जन्माएको एउटा कोरली छ त्यसैमा चित्त बुझाएर बसेको छु, सापकोटाले भन्नुभयो, माउँ मरेर गएपनि त्यही गाईले जन्माएको कोरली पछि ब्याउला भनी आशामा छु, सापकोटाले भन्नुभयो– यस्तो पीडा मलाई मात्र हैन गाउँमा अन्य किसानलाई समेत परेको छ ।’ उपचारमा तीस हजार रुपैयाँ खर्चिदा समेत आफूले माउँ गाई बचाउन नसकेको भनाई सापकोटाको छ ।
पशुमा फैलिएको लम्पी स्किन रोगका कारण गण्डकी प्रदेशका ११ जिल्लामा सात सय ४१ गाईवस्तुको मृत्यु भइसकेको छ । गण्डकी प्रदेश कृषि तथा भूमि व्यवस्था मन्त्रालयका बरिष्ठ पशु विकास अधिकृत डा. गृष्म न्यौपानेका अनुसार पछिल्लो समय यो रोग गाईवस्तुमा महामारीको रुपमा फैलिएको छ ।
सबैभन्दा वढी गोर्खा जिल्लामा फैलिएको यो रोगका कारण गण्डकी प्रदेशमा संक्रिमित गाइबस्तुको संख्या ३० हजार ६ सय ५३ पुगेको छ । गण्डकीका ११ जिल्ला मध्ये सबैभन्दा वढी गोरखा जिल्लामा १२ हजार ३६ संक्रमित र १ सय ५५ गाईबस्तुको मृत्यु भएको जानकारी डा. न्यौपानेले दिनुभयो । सबैभन्दा कम मनाङमा एउटा मात्र बस्तुमा यो रोग देखापरेको छ ।
गण्डकी प्रदेशमा यो रोग विरुद्धको खोप पशुमा लगाउन सुरु गरिएको जानकारी दिँदै डा. न्यौपानेले गण्डकी प्रदेशका ११ जिल्लामा ४५ हजार गाईबस्तुमा लम्पी स्किन विरुद्धको खोप लगाइएको बताउनुभयो ।
उक्त रोगका कारण गण्डकी प्रदेशमा ३०१ गोरु, २३९ गाई, ८८ बाच्छा–बाच्छी, १६ भैंसी, १६ पाडा–पाडी र एउटा राँगोको मृत्यु भएको जानकारी उहाँले दिनुभयो । संक्रमित भएका मध्ये २.४२ प्रतिशतले गाइबस्तुको मृत्यु हुने गरेको जानकारी उहाँले दिनुभयो । ‘सुरुमा पहाडी जिल्लामा फैलिएको यो रोग विस्तारै हिमाली जिल्ला मनाङ र मुस्ताङमा पनि देखा परेको छ, डा. न्यौपानेले भन्नुभयो– महामारी फैलिँदै जाँदा कतिपय व्यावसायिक फार्महरुले आफैँले खोप किनेर समेत पशुमा लगाएका छन् ।
लामखुट्टे,टोक्ने झिँगा र किर्नाजस्ता किराको टोकाइबाट यो रोग सर्ने गरेको पशु स्वास्थ्य प्राविधिकको भनाइ छ । गर्मीयाममा लामखुट्टे र किर्ना आदिको सङ्ख्या बढ्ने र ती कीरा बढी सक्रिय हुने भएकाले यसको प्रकोप अझ बढी देखिन्छ । रोगबाट सङ्क्रमित गाईभैँसीको दूध उत्पादनमा तीव्र गिरावट आउनुका साथै उच्च ज्वरो आउने, तौल घट्ने र मृत्यु पनि हुनसक्छ, डा.न्यौपानेले भन्न्ुभयो ।













