काठमाडौं – बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बरामद भएको करिब १०० किलो सुन तस्करीमा नाम जोडिएका व्यवसायी ले आफ्नो चरित्रहत्या गर्न सम्बन्धै नभएको मुद्दामा नाम जोडिएको बताएका छन्।
मलहोत्राले भने, ‘यो विशुद्ध मेरो व्यावसायिक र निजी चरित्रहत्या गर्ने प्रयत्न हो। हुँदै नभएको कुरामा मेरो नाम जोडिएको छ। म यसमा कहिँकतैबाट संलग्न छैन।’
उनले यसका बारेमा थप स्पष्ट पार्नका लागि आजै पत्रकार सम्मेलन गर्दैछन्। ‘दिउँसोको पत्रकार सम्मेलनमा मैले आफ्ना कुरा सबै भन्नेछु। यो मेरो चरित्रहत्या गर्ने पराकाष्ट पनि हो’, उनले भने, ‘यो आरोपबारे मैले कानुनी बाटोमा पनि जानेछु।’
बुधबार राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले झण्डै एक सय किलो सुन बरामद गरेको थियो। विमानस्थल क्षेत्रमा गरेको खोजतलासका क्रममा विमानस्थलको भन्सार पास भएर ट्याक्सीमा लैजान लागिएको उक्त सुन विभागको टोलीले बरामद गरेको थियो।
विभागले विमानस्थल भन्सार कार्यालयको गेट अगाडि सुन बरामद गरी तत्काल दुई जना पक्राउ गरेको थियो। त्यसपछि आज बिहानसम्म थप चार जना गरी हालसम्म ६ जनालाई पक्राउ गरिएको छ।













