पोखरा । गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुटु रोगका कारण समयमै उपचार नपाउँदा धेरै मानिसले ज्यान गुमाउनु परेकाले उनीहरुको उपचार लागि प्रदेश सरकारले मुटुरोग अस्पताल निर्माण गर्ने तयारी गरेको बताउनुभएको छ ।
रोटरी क्लव अफ पोखरा अन्नपूर्णको १८ औं पदस्थापन समारोहलाई आज सम्बोधन गर्दै मुख्यमन्त्री पाण्डेले सरकार एक्लैले अस्पताल निर्माण गर्न नसक्ने हुँदा दाताको खोजी भएइरहेको र यस कार्यमा विदेशीहरुसँग जोडिएका रोटरीयनहरुको पनि सहयोग आवश्यक पर्ने बताउनुभयो ।
‘गण्डकी प्रदेशको नीति तथा योजनामा गण्डकी प्रदेशमा मुटुरोग अस्पताल निर्माण गर्ने भनी समावेस गरिएको छ तर अस्पताल बनाउनका लागि आवश्यक पर्ने दशौ करोडौ रुपैयाँ प्रदेश सरकारसँग नहुँदा दाताको सहयोग खोजेका छौ, उहाँले भन्नुभयो–भूकम्प, स्वास्थ्य, शिक्षा, र सीपमूलक कार्यमा सहयोग गर्दै आएको रोटरी क्लवको सहयोग आफूलाई चाहिएको छ ।’
‘सबै काम सरकारले गर्छ भन्ने भावना त्यागौं, मुख्यमन्त्री पण्डेले भन्नुभयो– समाजसेवा र समृद्धितर्फ देशलाई अगाडि वढाउन निजी क्षेत्र र विभिन्न संघ संस्थाको जिम्मेवारी पनि त्यतिनै हुन्छ ।’ ‘संचार र प्रसविधिमा हामी धेरै अगाडि वढ्यौ तर विकास र समृद्धिमा मा त्यति प्रगती हुन सकेको छैन, उहाँले भन्नुभयो– हामी नकरात्मक सोँच त्यागेर सकरात्मक सोँच लिएर अगाडि बढौं ।’
नेपाली युवा शक्तिलाई नेपालमा रोजगारी दिएर विदेश जानबाट रोक्नुपर्ने भनाइ उहाँको छ । बिदोशमा गएर भेडा–बाख्रा चराउन तयार नेपाली युवाहरु स्वदेशमा बसेर कृषिमा किन नलाग्ने ? उहाँको प्रश्न थियो ।
रोटरी क्लवका संस्थापक अध्यक्ष एवं राजनीतिज्ञ देवराज चालिसेले देशमा अप्ठेरो परेको बेला मानवीय सहयोग गर्दै आएको र रोटरी क्लव गण्डकी प्रदेश सरकारसँग हातेमालो गर्दै अगाडि वढ्ने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
शिक्षा, स्वास्थ्य, भूकम्प, वाढी पहिरोमा परेको व्यत्तिःको सहयोग गर्दै आएको रोटरी क्लवले मुटुरोग अस्पताल निर्माणका लागि सहयोग गर्ने आश्वासन पनि उहाँले दिनुभयो । सो अवसरमा विद्यार्थी पविता नेपालीलाई आर्थिक सहयोग गर्नुका साथै क्लवमा योगदान गर्ने व्यत्तिःलाई सम्मान गरिएको थियो । क्लवका अध्यक्ष तोयाबहादुर भट्टराईको अध्यक्षतामा भएको उक्त कार्यक्रममा धन्यवाद ज्ञापन उपाध्यक्ष सईन्द्र श्रेष्ठले गर्नुभएको थियो ।













