काठमाडौं । निर्वाचनमा प्रत्येक मतदाताले छुट्टाछुट्टै रुपमा चारवटा मतपत्रमा आफूले इच्छाएको चुनाव चिह्नमा मतदान गर्नुपर्ने व्यवस्था गरिएको छ । निर्वाचन आयोगले प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न भएको मतपत्र र प्रतिनिधिसभाको समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरेको छ ।
यस्तै प्रदेशसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा रातो रङ्गको निर्वाचन चिह्न र प्रदेशसभाकै समानुपातिक निर्वाचन प्रणालीका लागि सेतो पृष्ठभूमिमा कालो रङ्गको निर्वाचन चिह्न भएको मतपत्रको व्यवस्था गरिएको छ । आफ्नो परिचयपत्रसहित मतदान केन्द्रमा पुग्ने मतदातालाई सुरुमा प्रतिनिधिसभाको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको मतपत्र उपलब्ध गराउने व्यवस्था गरिएको छ ।
यो मतपत्रमा इच्छाएको उम्मेदवारको चुनाव चिह्नमा मतदाताले मत सङ्केत गरिसकेपछि त्यसलाई पट्याएर नजिकैको ‘एक’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नु पर्नेछ । यो मतपत्र खसालिसकेपछि दोस्रो चरणमा निजले पाउने प्रतिनिधिसभाकै समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्रमा इच्छाएको राजनीतिक दलको चुनाव चिह्नमा मतदान गरिसकेपछि पट्याएर ‘दुई’ लेखिएको मतपेटिकामा मतपत्र खसाल्नुपर्छ ।













