जहिले पनि सत्ताकै परिवरी रहेका माओवादी केन्द्रका अध्यक्ष तथा वर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाललाई समिकरण टुट्ने हो कि भन्ने डर छ । सरकार टिकाउन उनले नेकपा ब्युताउने कुरा गर्छन त कहिले कांग्रेससँगको सहकार्य नटुट्ने अभिव्यक्ति दिन्छन् । उनका अभिब्यक्तिहरु कार्यक्रम र सन्र्दभसँगै फरक फरक हुन्छन् ।
उनले कम्युनिष्ट घटकको एक कार्यक्रममा बोल्दै नेकपा ब्युताउने चाहना व्यक्त गरे । लगत्तै गिरिजाप्रसाद कोईरालाको १००औं जन्मजयन्तीको अवसरमा बोल्दै उनले बाम एकता भएपनि नेपाली कांग्रेससँगको सम्बन्ध र सहकार्य नुटट्ने दाबी गरे ।
सत्ता समिकरणमा रहेका दलहरुमा असन्तुष्टि बढ्दै गर्दा प्रधानमन्त्री दाहालले समिकरण भत्कन नदिन र सत्तामा टिकिरहन अनेक जुक्ति लगाउने गरेको राजनीतिका जानकारहरुको वुझाइ छ । सरकारको नेतृत्व गरेरपनि सत्ता गुम्ने त्रासमा प्रधानमन्त्री दाहाल एमाले र कांग्रेस दुबै तिर ठिक्क देखिन्छन् । यद्यपी उनको दोहोरो चरित्रप्रति न त एमाले विश्वास गर्न तयार छ न त कांग्रेस नै ।
संसदमा ५४ सिटको प्रतिनिधित्व गर्नेगरी समजवादी मोर्चा बनाएछि त्यसले सत्ता समिकरणको ठूलो दल कांग्रेस एमालेसंग मिल्न सक्ने विश्लेषण हुन थालेपछि कांग्रेस तर्साउन नेकपाको कार्ड अघि सारेको धेरैको वुझाइ छ । विगतमा भएका कमिकमजारीलाई सुधारेर एमालेसँग फेरि पार्टी एकता गर्ने प्रस्ताव दाहालले अघि सारेपनि दाहालको आचरण र व्यवहार राम्रोसँग बुझेको एमाले यसका लागि तयार छैन ।
नेकपा एमालेले अहिलेको सरकार गिराएर नेपाली कांग्रेससँग सहकार्य गर्ने रणनीति प्रधानमन्त्री दाहालले चाल पाएसँगै उनी कांग्रेसलाई फकाउन तिर लागेका छन् । दाहालले एकातिर नेकपा ब्युताउने कुरा गरेपनि अर्कातर्फ कांग्रेससँगको सहकार्य वर्षौसम्म रहिरहने दाबि गर्ने गरेका छन । यद्यपी, उनको दुई जिब्रे अभिव्यक्ति कांग्रेसपनि पत्याउन तयार छैन । प्रधानमन्त्री दाहाल कांग्रेसको बलबुतामा सरकारमा रहेको बताउदै कांग्रेसले बलियो साथ दिएको र टुटेफुटेको कम्युनिष्ट एक गर्न भन्दा जनताले प्रत्याभुति गर्ने गरी काम गर्न कांग्रेस नेताहरुले प्रधानमन्त्रीलाई सुझाव दिएका छन ।
कांग्रेसको साथमा तेस्रो पटक प्रधानमन्त्री बनेका दाहाललाई यस पटक गिर्दै गरेको साख, पार्टीको कमजोर उपस्थिति भएको समयमा नेतृत्वको अवसर आएको हो । सत्ता र शक्तिमा रहे त्यसले निर्वाचनमा समेत प्रभाव पार्न सक्ने वुझेका दाहाल सहज रुपमा सत्ता वाहिर बस्न रुचाउदैनन । एमाले नेताहरुले कमजोर धरातलमा बनेको अहिलेको सरकार जतिबेला नि ढल्न सक्ने तर्क गरेका छन् । सरकार संकटमा पर्दै गएको अवस्थामा प्रधानमन्त्री दाहाल अहिलेको सरकार जोगाउन समिकरणमा रहेका दल फकाउने नमाने तर्साउने रणनितिमा देखिएको विश्लेषण हुने गरेको छ ।













