पेरिस । फ्रान्सेली प्रहरीले पेरिस ओलम्पिक – २०२४ को आयोजक समितिको मुख्यालयमा छापा मारेको छ ।
विदेशी अधिकारीहरुकाअनुसार अनुसन्धानमा पेरिस ओलम्पिक आयोजनाको तयारी रहेको कार्यलयमा भ्रष्टाचार भएको पाइएपछि प्रहरीले यो कदम चालेको हो ।
बीबीसीकाअनुसार प्रहरीले निर्माण ठेक्कामा पक्षपात भएको र सार्वजनिक सम्पत्तिको दुरुपयोगसम्बन्धमा अनुसन्धान गरिरहेको छ । पेरिस ओलम्पिक आयोजकका प्रवक्ताले आफूहरुले प्रहरीको अनुसन्धानमा सहयोग गर्दै आएको जनाएका छन् ।
गत मंगलबार भ्रष्टाचारसम्बन्धी अनुसन्धानकर्ताको टोली पेरिसको सहर सेन्ट(डेनिसस्थित ओलम्पिक आयोजक समितिको मुख्यालय र पूर्वाधार निर्माणको जिम्मेवारी पाएको सामाजिक संस्था सोलिडियोमा पूर्व सूचनाबिनै पुगेको थियो ।
फ्रान्सको न्यायपालिकाको निर्देशनमा यी दुई संस्थामाथि अनुसन्धान भएको बुझिएको छ । पेरिस ओलम्पिक २०२४ आगामी वर्षको २६ जुलाईदेखि ११ अगस्टसम्म आयोजना हुने तालिका छ । यस्तै सेप्टेम्बर लगत्तै पाराओलम्पिक पनि आयोजना हुनेछ । तर आयोजनाको तयारीमा रहेको पेरिसमा अप्रत्याशित घटना भइरहेका छन् ।
गत मे महिनामा रिसी तिनहुइ क्यासले फ्रान्सको राष्ट्रिय ओलम्पिक कमिटीको अध्यक्ष पदबाट राजीनामा दिएका थिए । उनले कुनै पनि ठोस कारण उल्लेख नगरी पद छाडेका थिए । उनले पद छाडेदेखि नै विभिन्न विवादहरु सिर्जना भएका छन् । पछिल्लो पटक फ्रान्सको हाई प्रोइफाइल खेल फुटबल र रग्बी जस्ता संघका पदाधीकारी पनि यसमा मुछिएका छन् ।













