केन्द्रीय कारागार सुन्धारामा कैदी-बन्दीहरूलाई व्यापक शोषण र दमन गर्दै ‘अवैध धन्दा’ मौलाइरहेको भन्दै त्यहाँका केही कैदी-बन्दीले गृहमन्त्रालय तथा कारागार व्यवस्थापन विभागमा उजुरी दिएका छन्।
उनीहरूले जेलर तथा नाइके र त्यहाँका चौकीदारहरू मिलेर कैदीमाथि दमन, शोषण र त्यहीँबाट अवैध कामहरू गरिरहेको विवरणहरू पनि मन्त्रालय र विभागलाई दिएका छन्। त्यो उजुरी अख्तियारसम्म पुगिसकेको छ। मन्त्रालयले उजुरी दर्ता पनि गरिसकेको छ।
उजुरीमा उल्लेख भएअनुसार चौकीदार शान्ति तामाङ्ग, अस्पताल नाइके कोपिला मगर, हेडमास्टर निशा खिनाललगायतको मिलोमतोमा कारागारभित्रै लागूऔषध, चुरोट र मदिरा बेचबिखन गर्ने गरिएको छ। उक्त कार्यको मूल नाइके रमेश भनिने बै लामाले संरक्षण गरिरहेको उजुरीमा उल्लेख छ।
कारागारभित्र यसरी लुटतन्त्र मच्चाउँदै आएकाहरुलाई जेल प्रशासनले नै संरक्षण दिएको स्रोतको दाबी छ। स्रोतकाअनुसार कारागारभित्र अवैध धन्दा चलाउनेहरुलाई कारागार प्रमुख ललित बस्नेतले नै संरक्षण दिएका छन्। उनले भित्रको बेथितिबारे बोल्नेलाई अन्य कारागारमा चलान गरिदिने धम्की दिएर दबाबमा राख्ने गरेका छन्।
उजुरीमा उल्लेख भनिएअनुसार कारागारको प्रशासन जेलर भवनमा मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारजस्ता कैदी-बन्दीहरु कारागार प्रशासनको जेल र भवनसम्म सहज रुपमा आउन पाउँछन्। उनीहरू कारागार प्रशासन जेलर भवनमा आउँदा र जाँदा पनि चेकरजाँच हुँदैन, जसले गर्दा कैदी-बन्दीलाई भेटघाट गर्ने बहाना बनाई बाहिरबाट आएको व्याक्ति र मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारजस्ता कैदी-बन्दीहरुको सहज भेटघाट हुने गर्छ। यसैको फाइदा उठाउँदै मूल नाइके, चौकीदार, बहीदार, ठुलो बहीदारले कारागारभित्र लागूऔषध, चुरोट र मदिरा भित्राउँछन् र १०औँ गुणा महङ्गोमा कारागारका अन्य कैदी(बन्दीलाई बिक्री वितरण गरिन्छ।
त्यस्तै कारागारका क्यान्टिन तथा पसलहरूमा पनि कैदी-बन्दीहरूबाट ३ गुणाभन्दा महंगोमा सामान बेचिन्छ। उजुरीमा बताइएअनुसार कारागारभित्र कैदी-बन्दीको लागि मेस तथा होटल संचालन गर्नेले सिधैँ बजारबाट खाद्यान्न तथा तरकारी खरिद गर्न दिइदैन। तरकारी तथा खाद्यान्न पसल कैदी-बन्दी चौकीदार प्रभाकर नरसिंह राणा र किराना पसल प्रीतम मानन्धरले सञ्चालन गर्दै आएका छन्। मेस तथा होटललाई खरिद मूल्यभन्दा ३ गुणा बढी लिएर बिक्री गर्छन, जसले गर्दा होटल तथा मेसमा पाइने खानेकुरा महंगो हुने गर्छ। परिणाम सरकारले प्रतिकैदीलाई दिएको भत्ताले मेसमा खाएको तिर्न पुग्दैन। फलस्वरुप कैदी बन्दीले घर परिवारबाट रुपैयाँ पैसा मगाउन बाध्य छन्।
त्यसैमाथि आफन्तहरूले कैदी-बन्दीलाई दिएको रकम पनि उनीहरू ५० प्रतिशतभन्दा बढी ‘कमिसन’ काट्ने गरेका छन्। उनीहरूकाअनुसार कैदी-बन्दीका आफन्तले कैदीलाई पैसा दिन चाहे सिधैँ कैदीलाई दिन पाउँदैनन्। मूल नाइकेले त्यसदिन खटाएको कैदी ९जसलाई स्टाफ भनिन्छ०को हातमा दिनुपर्छ। उक्त रकम स्टाफ बसेको कैदीमार्फत् पाएपछि मूल नाइकेले कमिसनको नाममा ५० प्रतिशत रकम उठाउने गरेका छन्।
उजुरीकर्ताहरूका अनुसार जेलभित्रै मिटर ब्याज, अनलाइन जुवा (बेटिङ)लगायतका धन्दाहरू पनि मौलाउँदै गएका छन्। उनीहरूले आफ्नो उजुरीमा लेखेका छन्, कारागारभित्र कैदी-बन्दीलाई पैसा उधारो लिन उकास्ने र त्यस्तो पैसाको रु। १०० बराबर मासिक ५ रुपैयाँका दरले हिसाब गरी मिटर ब्याज उठाउने गरेको छन्।
त्यस्तै जेलमा भएका विकृती र विसङ्गति तथा त्यस्ता अवैध धन्दाहरूको विरोध गर्ने कैदी बन्दीलाई धम्क्याउने, मानसिक र शारीरिक यातना दिने तथा सरुवा गर्ने र रोक्नेजस्ता कामहरू पनि हुँदै आएका छन्। उजुरीकर्ताहरूले कैदीहरूको सरुवामा पनि व्यापक पैसाको चलखेल भइरहेको आरोप लगाएका छन्।
‘निषेधित वस्तुको बिक्री, वितरण र महङ्गीको विरोध गर्ने उपर चौकीदार प्रभाकर नरसिंह राणा, मूल नाइक रमेश भन्ने बै लामा, ठुलो बहीदार प्रीतम मानन्धरसमेत भई शारीरिक तथा मानसिक यातना दिने तथा जेलरसँग मिली जेल स्थान्तरण समेत गर्ने गरेका छन्। हालसालै दीपकराज दाहाललाई नख्खु कारागार र खेमबहादुर डाँगीलाई नेपालगञ्ज कारागारमा चलान गरिएको छ। विकृतीका विरुद्धमा बोलेको कारणले कुटपिट समेतको शारीरिक यातना दिई निजहरुलाई चलान गर्ने गरेका छन्,’ उजुरीकर्ताले भनेका छन्, ‘चौकीदार शान्ति तामाङ्ग, हस्पिटल नाइके कोपिला मगर, हेडमास्टर निशा खिनालसमेत भई पुराना कैदीहरुलाई जेलबाट सरुवा रोकिदिने भनि १ लाख देखि २ लाखसम्म रकम उठाउने गर्छन् र उक्त रकम जेलरसम्म पुर्याई कैदीको कारागार सरुवा रोक्नेसम्मको काम हुने गरको छ।’













