काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले आगामी जेठ ३२ मा प्रधानन्यायाधीशमा सिफारिस हरिकृष्ण कार्कीको सुनुवाइ गर्ने भएको छ । सोमबार बसेको समितिको बैठकले सो निर्णय गरेको हो ।
संसदीय सुनुवाइ समितिमा २९ वटा उजुरी परेको छ । आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको थियो । समितिले जेठ ३१ गते उजुरीकर्ताहरूसँग छलफल गर्ने भएको छ । उजुरीको छानबिन गरिसकेपछि जेठ ३२ मा कार्कीलाई बोलाएर सुनुवाइ गर्ने समितिको निर्णय छ ।
उमेरहदका कारण कार्कीले आगामी साउन १९ गते अनिवार्य अवकाश पाउँदैछन् । न्याय परिषद् सचिवालयले आइतबार कार्कीको सेवा अवधि साउन १९ सम्म रहेको र साउन २० गतेदेखि अनिवार्य अवकाशमा जाने भएकाले असार १९ गतेदेखि इजलासमा बस्न नसक्ने पत्र सर्वोच्च अदालत, संसदीय सुनुवाइ समितिलाई बोधार्थ पठाएको छ । तर पनि १९ दिनका लागि संसदीय सुनुवाइ समितिले किन कार्कीलाई सुनुवाइ गर्न लागेको हो भन्ने बुझ्न सकिएको छैन ।













