काठमाडौं । संशोधित नागरिकता ऐन अनुसार नागरिकता वितरण गर्न गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । तर, केही प्रमुख जिल्ला अधिकारीले नागरिकता वितरणका लागि गृहले परिपत्र नै जारी गर्नुपर्ने बताएका छन् ।
जेठ १७ गते राजपत्रमा नागरिकता ऐन संशोधन भएको सूचना प्रकाशित भएपछि यो कार्यान्वयनमा आइसकेको गृह मन्त्रालयको जिकिर छ । मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतले नयाँ ऐनमा व्यवस्था भएबमोजिम भोलिदेखि जिल्ला प्रशासन कार्यालयहरुबाट नागरिकता प्रमाणपत्र जारी हुने बताए ।
गृहले नागरिकता ऐन २०६३ संशोधन भई राजपत्रमा प्रकाशित भएकाले कानुनबमोजिम नागरिकता दिन ७७ वटै जिल्ला प्रशासन कार्यालयलाई शुक्रवार एसएमएस पठाएको छ । गृह मन्त्रालयका अनुसार २०७२ साल असोज ३ गतेभन्दा अघि जन्मका आधारमा नागरिकता पाएका व्यक्तिका सन्तानले आइतबारदेखि नागरिकता पाउन सक्नेछन् ।
अघिल्लो संसद्ले पारित गरी ९ महिनादेखि राष्ट्रपति कार्यालयमा थन्किएको नागरिकता विधेयक बुधबार राष्ट्रपति रामचन्द्र पौडेलले प्रमाणीकरण गरेका थिए । त्यसविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भइसकेको छ।













