नयाँ दिल्ली । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आफ्नो चार दिने भारत भ्रमणको क्रममा नयाँ दिल्ली पुगेका छन् ।
प्रधानमन्त्री प्रचण्डलाई विमानस्थलमा भारतीय विदेश राज्यमन्त्री मिनाक्षी लेखीले स्वागत गरेकी छन् ।
प्रधानमन्त्री प्रचण्डलाई स्वागत गर्न राज्यमन्त्री लेखीसहित विदेश मन्त्रालयका अधिकारीहरू पनि विमानस्थलमा पुगेका थिए । विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डको स्वागतमा सांस्कृतिक कार्यक्रम तथा झाँकी प्रदर्शन गरिएको थियो ।
गत पुस १० मा तेस्रो पटक प्रधानमन्त्री बनेपछि प्रचण्डको यो पहिलो विदेश भ्रमण हो । उनी जेठ २० गते भ्रमण पुरा गरेर स्वदेश फर्किने छन् ।
भ्रमण टोलीमा अर्थ मन्त्री डा. प्रकाशशरण महत, भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेत, परराष्ट्र मन्त्री एनपी साउद, उद्योगमन्त्री रमेश रिजाल, छोरी गंगा दाहाल लगायत छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बुधबार भारतीय राष्ट्रिय सुरक्षा सल्लाहकार अजीत डोभाल र भारतीय विदेश मन्त्रालयका सचिव विनयमोहन क्वात्रासँग भेटघाट गर्ने भएका छन् ।
बुधबार दिउँसो चार दिने भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका प्रधानमन्त्री दाहालले डोभाल र क्वात्रासँग आफू बसिरहेको होटलमा भेटवार्ता गर्ने कार्यसूची रहेको छ । डोभालसँग ४ बजे र त्यसपछि क्वात्रासँग प्रधामन्त्रीले भेट गर्नेछन् ।
प्रधानमन्त्री प्रचण्डले बिहीबार भारतीय समकक्षी नरेन्द्र मोदीसँग हैदरवाद हाउसमा दुई पक्षीय वार्ता गर्ने छन् ।












