काठमाडौं । स्वास्थ्य संस्थामा ओपीडी सेवा विहान ८ बजेदेखि बेलुका ८ बजेसम्म सञ्चालन हुने भएको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम सार्वजानिक गर्दै सामुदायिक अस्पतालमा १२ घन्टा ओपीडी सञ्चालन गर्ने बताएको हो ।
स्वास्थ्य बीमा कार्यक्रमलाई पनि पुनरावलोकन गर्ने बताएको छ । स्वास्थ्य बीमा कार्यक्रम प्रभावकारी रुपमा सञ्चालन हुन नसकेपछि सरकारले बीमालाई थप व्यवस्थित गर्ने भएको हो ।
‘मेक इन नेपाल र मेड इन नेपाल कार्यक्रम’ अन्तर्गत नेपालमा उत्पादन हुने वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा पठाउने विषय नीति तथा कार्यक्रममा समावेश गरिएको छ ।
‘स्वदेशी वस्तुको उत्पादन र उपयोग वृद्धिका लागि मेक इन नेपाल र मेड इन नेपाल अभियानलाई सहयोग पुर्याइने छ। यी अभियान अन्तर्गत हिमालको पानी प्रशोधनको व्यवसायिक उत्पादनसहित तिलगंगा आँखा अस्पतालबाट उत्पादित लेन्स विश्वबजारमा ब्रान्डिङ गरिनेछ,’
दुर्गम जिल्लामा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीको हवाई उद्धार कार्यलार्य थप व्यवस्थित गरिने, जेष्ठ नागरिकलाइ स्वास्थ्य तथा अन्य सेवा सुविधामा सहुलियत तथा छुट दिइने र जेष्ठ नागरिक स्वास्थ्य सेवा सुरु भएका अस्पतालहरुलाई थप व्यवस्थित गरिने नीति तथा कार्यक्रम समेटिएको छ । जुन यसअघिका नीति तथा कार्यक्रम पनि समेटिदै आएको विषय हो ।
यसैगरी सरकारले चिकित्सा शिक्षा सम्बन्धी प्रतिष्ठानहरुलाई एकीकृत छाता ऐन अन्तर्गत सञ्चालन गर्ने नीति लिएको छ । चिकित्सा शिक्षालाई एकीकृत र योजनाबद्ध रुपमा विस्तार गर्न यस्तो नीति लिएको हो ।












