१. अलिकता सोच त कि कर्म तिमी नगर्ने तर फल पाउने आशा गर्ने यो त दास मानसिकता हो । मन्त्र दीक्षा र नाम लिएका लाखौँ मानिस माला घुमाइरहेका छन्, यज्ञ गरेका छन्, के कहिल्यै अमृतको वर्षा हुन्छ ? मैले त कहिल्यै देखेको छैन । जन्म जन्मान्तरदेखि प्रतिक्षारत हजारौँ मानिसलाई देखेको छु । जसले गुरु पाएर पनि हराए ।
२. जो विराट छ, परम छ उही परमात्मा हो । प्रेम र करुणा, सेवाको मार्ग परमात्मासम्म पुग्दछ । भक्ति–प्रेममा डुब्न सक्नेले मोक्षको आनन्द पनि त्यागिदिन्छ ।
३. मनले सबै इन्द्रिय माथि आफ्नो साम्राज्य स्थापित गरेको छ । तिम्रो सहयोग पाएको छ । तिमीलाई दास बनाएको छ । तिम्रो मालिक बनेको छ ? शान्तिलाई धपाएको छ भने मौनता खोसेको छ ।
४. तिम्रो हृदयले सबै कुरा सुन्न र बुझ्न सक्छ । उसको सोझो सम्पर्क आत्मासँग छ । त्यसलाई पनि मनले अशान्त पारेको छ । तर हृदयले विरोध गर्दैन । यो शान्तिको भण्डार हो । सधैँ प्रतिक्षा गर्दछ । हृदयबाटै प्रेम, करुणा उत्पन्न हुन्छ । ध्यान पनि हृदय गुफा कै देन हो । हृदयका सबै गुण परमात्माको द्वार हुन् ।
५. हृदय राजा हो जुन किनारा लागेको छ प्रतिक्षामा छ । मन जो नोकर हो राजगद्दीमा बसेको छ र यसले तिमीलाई सदियौँ मुर्ख बनाइरहेको छ । मनबाट राजमुकुट खोसेर हृदयलाई लगाइदेऊ । मनको मात छुट्ने छ र हृदयको भक्त बन्ने छ । हृदय मालिक बन्ने बित्तिकै ऊ योग्य नोकर बन्ने छ, तब हेर आफूलाई तिमी कति आनन्दमा हुनेछौ ।
६. हृदय अति कोमल छ । यसले सधैँ हर परिस्थितिमा तिमीलाई साथ दिने छ । हृदय तिम्रो साथी हो, सुख दुःखको हृदय परमात्माको द्वार हो, यो भिखारी होस् वा राजा यसमा परिवर्तन आउँदैन । हृदयबाटै आनन्दको वर्षा हुन्छ, यसलाई आफ्नो साथी बनाऊ ।
साभारः ‘महापुरुषहरुका अमर वाणी’ पुस्तकबाट












