पोखरा, ७ वैशाख । जागृती बाल तथा युवा सरोकार नेपाल किशोरी समुहले गण्डकी प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री एवम् प्रदेश सरकारका प्रवक्ता रोशन बहादुर गाहा थापा मगरलाई ध्यानाकर्षण पत्र बुझाएको छन् । पोखरामा सम्पन्न तीन दिने सामाजिक तथा व्यवहारिक परिवर्तन तथा नेतृत्व विकास कार्यक्रमको समापनसँगै बिहीबार महिला तथा बालबालिको संरक्षण र अधिकार कार्यान्यवन गर्नुपर्ने भन्दै १७ बुँदे मागसहित ध्यानाकर्षणपत्र बुझाएका हुन् ।
बालबालिका सशक्तिकरणको अभियानमा रहेका किशोरीहरुको समुहको ध्यानाकर्षणपत्र बुझ्दै कानूनमन्त्री गाहामगरले आफ्नो तर्फबाट माग सम्बोधन गर्न सक्दो पहल गर्ने बताउनुभयो ।
मन्त्री गाहामगरले किशोरीलाई सशक्तिकरण, बालमैत्री, पोषणमैत्री, युवामैत्री तथा कानूनले व्यवस्था गरेको बालअधिकारको संरक्षण गर्न आफु सधै लागि पर्ने भनाई राख्नुभयो । किशोरी समुहले प्रदान गरेको पत्रलाई मंत्रालयमा दर्ता गराएर यथोचित सम्बोधन गर्न तदारुपताकासाथ लाग्ने प्रतिबद्धता समेत उहाँले व्यक्त गर्नुभएको छ ।
सो समुहले बुझाएको ध्यानाकर्षणपत्रमा प्रदेशको बालबालिका सम्बन्धी ऐनको व्यवस्था स्वीकार्य रहेकाले कार्यान्वयनका लागि स्थानीय तहसम्म नै विभिन्न समितिहरु र संयन्त्रको व्यवस्था गर्न माग गरिएको छ ।
बालिका तथा किशोरी सरोकार समुहको गठनका साथै प्रत्येक विद्यालयमा स्टाफ नर्स, स्वास्थ्यकर्मी र मनोविमर्शकर्ताको व्यवस्था गर्नुपर्ने माग उनीहरुले राखेका छन् । यस्तै बाल विवाह र अन्य हानिकारक अभ्यासको अन्त्यका लागि प्रदेश सरकारको रणनैतिक कार्ययोजना निर्माण गरी कार्यान्वयन गर्नुपर्ने किशोरी समुहको माग छ ।
किशोरीहरुका लागि देवचुली नगरपालिका र कावासोती नगरपालिकाको समन्वयमा जागृती बाल तथा युवा सरोकार नेपालले क्यान्नालन स्वीजरल्याण्डसँगको साझेदारीमा किशोरी स्रोत तथा सिकाई केन्द्र स्थापना भएकाले यस प्रदेश भित्रका अन्य स्थानीय तहमा पनि स्थापनाका लागि पहल गर्न माग राखेका छन् । सो कार्यक्रममा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव मनमाया पंगेनी र समाजसेवी राम प्रसाद सुवेदीले बाल तथा महिला अधिकारका बारेमा बोल्नुभएको थियो ।












