मसलासँगै मिसाएर अथवा अलग्गै चाटेर प्रयोग हुने खुर्सानी हरियो र सुकेको गरी दुई किसिमका हुन्छन् । कतिपय व्यक्तिलाई अरु कुराको नशाझैँ खुर्सानीको पनि नशा हुन्छ । विनाखुर्सानी गाँसै नछिर्ने । स्वास्थ्य र पाचन प्रणालीको दृष्टिले ताजा हरियो खुर्सानीको सिमित पिरो सुपाच्य मानिन्छ, तर नशा पिएझैँ पसिनै निस्कने गरी खुर्सानीको सेवन शरीरप्रतिको अत्याचार हो ।
आयुर्वेद मतानुसार खुर्सानीलाई दाहकारक, अग्निप्रदीपक र चटपटे स्वादयुक्त मसला मानिन्छ । खानामा स्वाद र पेटमा भोक बढाउन यसको प्रयोगले निकै मद्दत गर्दछ । आयुर्वेदज्ञहरु त पेटमा भोक बढाउने जठराग्नि प्रदीप्त गर्नुप-यो भने हरियो ताजा खुर्सानीको सेवन गर्ने सल्लाहसमेत दिन्छन् ।
रोगनाशक गुण
शरीरमा स–साना खटिरा आएको खण्डमा कलिलो हरियो खुर्सानीको लेप लगाउनाले केही मात्रामा पोले पनि समस्या ठीक गर्न सहयोग पुग्छ ।
चिलाउने रोग, दाद तथा लुतो आएको बखतमा तेलमा खुर्सानी खारेर त्यसले मालिस गर्नाले आराम हुन्छ ।
माकुराले छेरेको ठाउँमा उठेको बिमिरालाई हटाउन हरियो खुर्सानी पिसेर लगाउने हो भने तुरुन्त फाइदा मिल्दछ ।
सन्धिपीडामा खुर्सानी राखेर पकाएको तेलले मालिस गरे पीडा कम हुन्छ ।
बारुलो, अरिङ्गाल, बिच्छी तथा कुकुरले टोकेको ठाउँमा तुरुन्त खुर्सानी दल्ने हो भने त्यसले दुखाइ त बढाउँछ तर त्यसको जलनले विषाइलो असर हटेर जान्छ ।
साभारः ‘खाने कसरी पिउने कसरी’ पुस्तकबाट












