पोखरा, २० चैत । पोखरामा राष्ट्रिय फुटबल खेलाडी सुमित श्रेष्ठ (मेस्सी) लाई सम्मान गरिएको छ । नेपालले काठमाडौंमा सम्पन्न थ्री नेसन्स कप जितेपछि पहिलोपटक गृह जिल्ला आएका उनलाई स्पार्टस् क्यासल प्रालिले स्वागतसहित सम्मान अर्पण गरेको हो ।
पूर्व राष्ट्रिय फुटबल खेलाडीसमेत रहेका स्पार्टस् क्यासलका सञ्चालक ईश्वर गुरुङ र विजया गुरुङले फुटबलर श्रेष्ठलाई सम्मान गरेका हुन् । सो अवसरमा बोल्दै पूर्व राष्ट्रिय फुटबल खेलाडी गुरुङले उदीयमान खेलाडी श्रेष्ठको उज्जल भविष्यको कामना गरे ।
उनले श्रेष्ठलाई बाल्यकालदेखि नै हातेमालो गर्दै आएको स्मरण गर्दै अहिले आएर श्रेष्ठ आफ्नो सपना नजिक पुगेको उल्लेख गरे । ‘यिनीहरुलाई मैले सानैदेखि हातेमालो गर्दै आएको हुँ, उनले भने, ‘थ्री नेसन्स कपमा डेब्यु गर्दै देशको नाममा खेल्ने सपना अहिले आएर पूरा हुदैछ । आगामी दिनमा थप राम्रो गर्न चुनौती पनि छ त्यसका लागि म शुभकामना व्यक्त गर्दछु ।’
गुरुङले राष्ट्रिय टिममा स्थान बनाइरहनका लागि कडा मेहनत गर्नुपर्ने धारणा राखे । ‘सुमितको लागि यो अवसर निकै महत्वपूर्ण छ । र त्यतिकै चुनौती पनि छ । किनभने खेलाडीहरु निकै जन्मिरहेका छन् त्यसैले कडा मेहनत र परिश्रमी बन्नु आवश्यक छ’ उनले भने ।
सम्मान ग्रहण गर्दै फुटबलर सुमित श्रेष्ठले आगामी दिनमा थप राम्रो गर्ने हौसला मिलेको बताए । उनले आफु एउटा सपना नजिक पुगेको बताउदै थप मेहनत गर्ने सुनाए । ‘म तपाइहरुकै मायाले यहाँसम्म पुगेको छु । यो सम्मानले मलाई थप जिम्मेवारीको भारी बोकाएको छ, श्रेष्ठले भने, ‘म बोक्न मात्रै तयार छैन । गन्तव्यमा सकुशल अवतरण गराउन पनि तत्पर छु । त्यसैले झन कडा मेहनत गर्ने प्रण गर्दछु ।’











