ब्रिटेनका विश्वविख्यात वैज्ञानिक कथाकार लेखक एवं इतिहासकार एच.जी. वेल्सकी आमा वेल्सको बाल्यकालको समयमा घरेलु नोकर्नीको रुपमा काम गर्थिन् । ठूलो भएर वेल्सले धेरै धन कमाए । उनले कैयौँ तला भएको आलिशान घर बनाए ।
एक पटक उनले आफ्ना साथीलाई घर देखाउनको लाग लिएर गए । तल बडो शानदार र आधुनिक सुखसुविधाले युक्त कोठा देखाउँदै वेल्सले भने, यो मेरो नोकरको कोठा हो । माथि पुगेर वेल्सले साधारण कोठा देखाउँदै भने, यो कोठामा म र मेरा परिवारका मानिस बस्छौँ ।
साथी आश्चर्यचकित थिए । उनलाई अचम्म लागेको थियो, वेल्स आफू साधारण कोठामा बस्छन् र आफ्नो नोकरको लागि यति ठाँटबाँटले सजाएको कोठा छ । उनले आखिरमा सोधे, वेल्स एउटा कुरा बताउनुस्, तपाईंले आफ्ना नोकरलाई ठूलो र राम्रो कोठा बनाइदिनुभएको छ र आफू साधारण कोठामा बस्नुहुन्छ । यस्तो किन ? तपाईं आफै तल्लो तलाको सानदार कोठामा किन बस्नुहुन्न ?
साथीको कुरा सुनेर वेल्स गम्भीर भए र भने, मेरा प्रिय साथी, म नोकरलाई आफूलाईभन्दा धेरै महत्वपूर्ण मान्छु । उनीहरु मेरो लागि आफूभन्दा प्रिय छन् । यस्तो किन ? साथीले सोधे । किनकि साथी, म बाल्यकालमा छँदा मेरी आमा पनि नोकर्नी थिइन् । साथी पनि वेल्सका कुरा सुनेर गम्भीर भए ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













