कुशल मूर्तिकार चित्रसेनलाई बन्दी बनाउनको लागि जब राजसैनिक उनको स्थानमा पुगे तबसम्ममा उनले आफ्नै अनेकौँ मूर्ति बनाइसकेका थिए र बीचमा आफै पनि मूर्तिवत बसे । कलाकारिता यति राम्रो थियो कि सैनिकको लागि असली र नक्कली छुट्याउन मुश्किल भयो ।
तब केही सोचेर एउटा सैनिकले भन्यो, वा, कति सुन्दर मूर्तिहरु । यी मूर्ति बनाउने मानिस निश्चय नै उच्च कोटिको कलाकार हो । प्रशंसा सुनेर चित्रसेन, जो मूर्तिवत बसेका थिए, उनको अनुहारमा प्रसन्नता आयो । सैनिकले मुस्कुराएर भने, तर अझै केही कमी छ । कस्तो कमी ? आवेशमा आएर चित्रसेन बोले ।
सैनिकले तुरुन्त उनको नाडी समाए र बन्दी बनाउँदै भने, बस, यही कि अहंकार अझै समाप्त भएको छैन । चित्रसेनले आफ्नो मूर्खतामा टाउको निहुराइरहे ।
साभारः ‘प्रेरक प्रसङ्हरु’ पुस्तकबाट













