पोखरा, १४ फागुन । ऐतिहासिक, पुरातात्विक एवं धार्मिक महत्व बोकेको महत्वपूर्ण पर्यटकीय गन्तव्य मानिन्छ, पोखरा–१७ को छोरेपाटनस्थित गुप्तेश्वर महादेव गुफा । पोखरामा आउने जो–कोही विदेशी तथा स्वदेशी पर्यटक गुप्तेश्वर महादेश गुफा अवलोकन गर्न पुग्ने गर्छन् । पोखराका प्रमुख पर्यटकीय स्थलमध्य गुप्तेश्वर महादेव गुफा, फेवाताल, पातलेछाँगो, पुग्दीको बुद्ध शान्ति स्तुप र शिव महादेशको मूर्ति एकै क्षेत्रतर्फ पर्ने र ती सबै प्रर्यटकीय गन्तब्य एकै दिन अवलोकन गर्न सकिने हुँँदा त्यस क्षेत्रमा दैनिक स्वदेशी तथा विदेशी पर्यटकको बाक्लो उपस्थिती रहने गर्छ ।
जमीनबाट करिव १५० मीटर तल अवस्थित यस गुफाको पूर्वी भागबाट पाताले छाँगोबाट खसेको झरना दृष्यावलोकन गर्न सकिन्छ । दक्षिण एसियाका सबैभन्दा ठूला गुफाहरूमा पर्ने यो गुफाभित्र मन्दिरहरू र ठूला खुला ठाउँ पनि रहेका छन् । गुफा अवलोकन गर्दै स्याङ्जाका कृष्ण क्षेत्रीले भन्नुभयो–‘प्राकृतिक रुपमा सुन्दर र गहिराईमा रहेको गुप्तेश्वर महादेव गुफा अवलोकन गर्दा अत्यन्त आनन्द आयो ।’ पोखरा ताल र गुफैगुफाको शहरको रुपमा चिनिने गर्छ । कास्कीका एक दर्जन ताल र एक दर्जन वढी गुफाहरु रहेको जानकारी भूर्गववीद् डा.कृष्ण केसीले बताउनुभयो ।
कोरोनाको बेला केही महिना बन्द गर्नुपरेको गुफामा पछिल्ला वर्ष अवलोकन गर्ने पर्यटटको संख्या संख्या वढेको छ । गुप्तेश्वर महादेव गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णु प्रसाद पौडेलले गुफा अवलोकनमा पछिल्लो वर्ष अवलोकन कर्ता वढेको र शनिबार र विदाका दिन त भीड नै लाग्ने बताउनुभयो । गुफामा अत्याधुनिक बारकोड स्क्यानर गेट राखिएको छ । टिकटमा भएको बारकोड स्क्यान गरेपछि मात्र गेट खुल्ने भएकाले गुफामा दैनिक कति पर्यटक आए भन्ने विवरण लिन पनि सहज हुने भएको जानकारी गुप्तेश्वर महादेव गुफा व्यवस्थापन कार्यालयका प्रमुख नारायण पौडेलले बताउनुभयो ।
कार्यालय प्रमुखले पौडेलले भन्नुभयो ‘कोरा्ेना अगाडिआर्थिक वर्ष २०७४÷०७७ मा टिकट बिक्रीबाट मात्र वार्षिक चार करोड ५२ लाख रुपैयाँ आम्दानी भएको थियो ।’ कोरोना पछिको आर्थिक वर्ष २०७८÷०८९ मा गुफा प्रवेशका लागि स्वदेशी तथा विदेशी पर्यटकबाट दुई करोड ९३ लाख ६५ हजार ९ सय २५ रुपैयाँ संकलन भएको जानकारी प्रमुख पौडेलले दिनुभयो । आर्थिक वर्ष २०७८÷०८९ मा गुप्तेश्वर महादेव गुफा अवलोकन गर्न एक लाख १९ हजार सात सय ११ विदेशी पर्यटक, दुई लाख ५२ हजार आठ सय २२ स्वदेशी पर्यटक र ८२ हजार एक सय ७८ नेपाली विद्यार्थीले गुफा अवलोकन गरेको जानकारी पौडेलले दिनुभयो ।
यसै आर्थिक वर्ष २०७९÷०८० को सात महिना अर्थात माघ महिनासम्म गुफा अवलोकनका लागि विदेशी पर्यटक एक लाख १९ हजार चार सय ६४, नेपाली पर्यटक एक लाख ५१ हजार चार सय ८७ जना र नेपाली विद्यार्थी एक लाख ६ हजार एक सय ९८ जना रहेका छन् । यसै आर्थिक वर्षको सात महिनाने अवधिका प्रवेश शुल्क बाट मात्र दुई करोड ३२ लाख ३७ हजार ६ सय ८० रुपैयाँ जम्मा भइसकेको जानकारी उत्तः कार्यालयले दिएको छ । गुफा अवलोकन गर्न प्रवेश शुल्क विदेशीलाई एक सय, नेपाली पर्यटकलाई ५० रुपैयाँ र विद्यार्थीलाई ३५ रुपैयाँ लिइँदै आइएको छ ।
गुप्तेश्वर महादेव गुफामा साँझ आरती सेवा समेत संचालनमा ल्याइएको छ । विश्वशान्तिको कामनासहित पारिवारिक सुख शान्ति, पितृ उद्धारलगायतका विविध लक्ष्यका साथ आयोजना गरिने आरती सेवा प्रत्येक हप्ताको सोमवार साँझ एक घण्टा संचालन गरिँदै आइएको छ । तीन जना गुरुद्धारा शुद्ध गाईको ध्यू, कपुर, ज्योति लगायतका पूजा सामाग्रीको माध्यमबाट गरिने आरती बिशेषगरी शिव, बिष्णु भगवान तथा दुर्गादेवी मन्त्र वाचनद्धारा समर्पण गरिने गुफा व्यवस्थापन समितिका अध्यक्ष विष्णुप्रसाद पौडेलले जानकारी दिनुभयो ।
२०५१ सालदेखि संचालनमा आएको गुप्तेश्वर गुफामा वार्षिक पाँच लाखको हाराहारीमा आन्तरिक र बाह्रय पर्यटकले टिकट काटेर अवलोकन गर्ने गरेको कार्यालय प्रमुख नारायण पौडेलले जानकारी दिनुभयो । कोरोनाको अवधिमा भने त्यो संख्या घटेको छ ।
गुप्तेश्वर गुफा व्यवस्थापन समितिले गुफाको आम्दानीबाट गुप्तेश्वर महादेव वहुमुखी क्याम्पस र गुप्तेश्वर महादेव वेद विज्ञान पाठशाला संचालन गर्दै आएको छ । वार्षिक एक करोड भन्दा वढी रुपैयाँ क्याम्पस र पाठशाला संचालनमा गुफाले खर्च गर्ने गरेको छ ।











