बिहान सबेरै जोखिमपूर्ण हाँगोको टोड्कोमा आफ्ना नाबालक बचेरालाई छाडेर परेवाका जोडी चारो खोज्न उडे । साविकको समयमा फर्केर आइपुग्नुग्नुपर्ने, आइपुगेनन् । सूर्य चम्किँदै गयो, बचेराहरु आत्तिँदै गए । भोक बढ्दै गयो, बचेराहरु विह्वल हुँदै गए ।
आकाश कालो भयो, बादल गड्गडायो, छिमेकी रुखमा चट्याङ प¥यो, पानी छिट्यायो । उनीहरु फर्केनन् । झमक्क साँझ प¥यो । बचेराहरु भोकले च्याँच्याँ कराउँदा कराउँदै मरणासन्न भए । तैपनि उनीहरु फर्केनन् । साँझको अन्तिम प्रहरमा पोथी परेवा थोरै चारो बोकेर आलास तालास हुँदै फर्किई ।
हुरीबतासले आधा भत्किसकेको गुँडमा इन्तु न चिन्तुको हालतमा रहेका आफ्ना बचेराहरुलाई सहानुभूतिपूर्वक पालैपालो स्पर्श गरी र सधैँको जस्तो बेलैमा चारो लिएर आउन नसक्नुको विवशता सुनाई— मान्छेहरु मूर्ख भएपछि के लाग्छ ?
आफूहरु विनासित्ती लड्छन्, आतङ्क मच्चाउँछन् अनि हामीलाई समात्छन्, थुन्छन् फेरि छोड्छन् र ताली बजाउँदै शान्ति शान्ति भन्दै चिच्याउँछन् । तिम्रा बाबु अझै तिर्न मूर्खहरुको खोरमा छन्, सके भोलि आइपुग्लान् कि ? बचेराहरुले न त आमाले खुवाएको चारो निल्न सकेका थिए, न त शान्तिको कथा बुझ्न नै सकेका थिए ।
साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट













