काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देलले प्रधान सेनापति ट्रफी–२०८३ खेलकुद प्रतियोगिताको उद्घाटन गरेका छन् ।
लगनखेलस्थित खेल मैदानमा आज आयोजित समारोहमा प्रधान सेनापति सिग्देलले प्रतियोगिताको समुद्घाटन गरेका हुन् ।
नेपाली सेनाभित्र रहेका प्रतिभावान् खेलाडीको पहिचान गरी उनीहरूको सीप विकास गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका खेलाडी तयार गर्ने उद्देश्यले २०६५ सालदेखि प्रधान सेनापति ट्रफी प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
यस वर्षको प्रतियोगितामा एथलेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल र जुडो गरी आठ विधा समावेश गरिएको छ । प्रतियोगितामा पृतना तथा बाहिनीका १४ टोली सहभागी छन् ।
प्रतियोगिताअन्तर्गत आज सम्पन्न पाँच किलोमिटर दौडमा महिलातर्फ मध्यपूर्वी पृतनाका प्यूठ निर्मला केसी पहिलो भएकी छन् । पुरुषतर्फ उत्तरपश्चिम पृतनाका सिपाही अर्जुन बुढा पहिलो भएका छन् ।
विजेता केसी र बुढालाई प्रधान सेनापति सिग्देलले पुरस्कार वितरण गरेका थिए ।समारोहमा रथीवृन्द, अधिकृत, निर्णायक मण्डल तथा खेलाडीहरूको उपस्थिति रहेको थियो ।













