स्याङ्जा । अविरल वर्षासँगै कालीगण्डकी नदी र सेती खोलामा आएको बाढीका कारण सेतीवेणी बजार डुबानमा परेको छ । स्याङ्जा, पर्वत र गुल्मीको सीमामा रहेको कालीगण्डकी नदी र सेती खोलाको किनारमा अवस्थित सेतीवेणी बजार डुबानमा परेको हो ।
चार दिनदेखि निरन्तर रूपमा परेको वर्षासँगै कालीगण्डकी नदी र सेती खोलामा आएको बाढीले स्याङ्जाको गल्याङ नगरपालिका-५ तर्फको बजारका १७ घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी रमेशदत्त अवस्थीले जानकारी दिए । त्यस्तै, पर्वततर्फका नौ घरमा क्षति पुगेको गल्याङ–५ का वडाध्यक्ष घनश्याम भट्टराईले बताए ।
“स्याङ्जातर्फका १७ घरमा बाढी पस्दा घरहरू भत्किनुका साथै डुबानमा परेका छन्”, उनले भने, “गए राति २ बजेतिरदेखि नदी तथा खोलामा बहाव बढेसँगै स्याङ्जा र पर्वततर्फका बाढी प्रभावितलाई पर्वततर्फको शालिग्राम मावि परिसरमा राखिएको छ ।” विद्यालयमा आश्रय लिएर बसेका बाढी प्रभावितलाई तत्काल खानपान तथा आश्रयको व्यवस्थापन मिलाइएको उनले बताए । बाढीका कारण मानवीय क्षति नभए पनि केही पशुचौपाया भने नदीले बगाएर लगेको उनको भनाइ छ ।
बजार डुबानमा परेपछि अहिले त्यहाँको जनजीवन प्रभावित बनेको छ । बाढीका कारण विश्व विराट शालिग्राम शीला डुबानमा परेको छ । कालीगण्डकी नदीमा आएको बाढीका कारण स्याङ्जाको कालीगण्डकी गाउँपालिका–७ मा मिर्मीमा रहेको कालीगण्डकी ए जलविद्युत् परियोजनाका सबै ढोका खोलेर विद्युत् उत्पादन बन्द गरिएको छ । नदीमा आएको बाढीले आज बिहान मिर्मीस्थित स्याङ्जा र गुल्मीलाई जोड्ने मोटरेबल पुलसमेत बगाएको थियो ।













