चीनले नेपालमा उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा विनाशकारी आकस्मिक बाढी आएको हुन सक्ने जनाएको छ ।
चीनकोे विदेश मन्त्रालयले शुक्रबार नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा यो विपद् निम्तिएको हुन सक्ने बताएको हो ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता लिन चियानले बेइजिङमा शुक्रबा। पत्रकारहरूसँग कुरा गर्दै दुवै देशका विज्ञहरूले विपद्को प्रारम्भिक मूल्याङ्कन गरेको बताए । बुधबार बिहानै उत्तरी तथा मध्य नेपाल र चीनको दक्षिणी तिब्बत क्षेत्रमा विनाशकारी विपद् आएको हो ।
‘नेपालको उच्च हिमाली क्षेत्रमा रहेको हिमनदी भत्किँदा यो विपद् निम्तिएको हुन सक्छ,’ लिनले भने ।
चीन र नेपालका विज्ञ तथा सम्बन्धित निकायले गरेको प्रारम्भिक मूल्यांकनले नेपालको उच्च उचाइमा रहेको हिमनदी भत्किएपछि पहिरो आएको देखाएको लिनले बताएको द हिन्दुले लेखेको छ ।
लिनले पहिरोको कारण पत्ता लागेको छ कि छैन, घटनामा फसेका पर्यटकलाई सुरक्षित स्थानमा सारिएको छ कि छैन र अझै मानिसहरू बेपत्ता छन् कि छैनन् भन्ने प्रश्नको जवाफ दिँदै यस्तो बताएका हुन् । ‘हामी सम्बन्धित विवरण थप पुष्टि गरिरहेका छौँ ।
‘हामीले सम्बन्धित देशका चीनमा रहेका दूतावासलाई जानकारी गराएका छौँ र सम्पर्क कायम राख्नेछौँ’, लिनले भने ।
विज्ञहरूका अनुसार हिमनदीबाट हिउँ तथा बरफ खसेपछि त्यसले बाटोमा रहेका हिमनदीका अवशेष, माटो र चट्टान बगाउँदै तीव्र गतिमा तल झरेको थियो । त्यसपछि उक्त माटो तथा अवशेषको बहाव गेइरोङ बन्दरगाहसम्म पुगेको थियो ।
चिनियाँ राष्ट्रपति सी जिङसिपङले शुक्रबार चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वको बैठकको अध्यक्षता गर्दै उद्धार कार्यलाई प्राथमिकता लिदन निर्देशन दिएका थिए ।
चीनले नेपाललाई आपत्कालीन सहायता उपलब्ध गराउने र अन्तर्राष्ट्रिय उद्धार सहकार्य गर्ने बैठकले निर्णय गरेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
लिनले बेपत्ता विदेशी नागरिकसम्बन्धी विवरण प्रमाणित गर्ने काम भइरहेको पनि बताए । बेइजिङले सम्बन्धित देशका दूतावासहरूलाई यसबारे जानकारी गराइसकेको पनि उनले बताए । चीनमा मृतकको संख्या सात पुगेको छ भने ५५४ जना अझै बेपत्ता रहेको जनाइएको छ ।













