काठमाडौं, २८ अगस्ट: संयुक्त राज्य अमेरिकाले नेपाल सरकारसँगको समन्वयमा बाढीबाट प्रभावित नेपालीका लागि आपत्कालीन राहत सामग्री पठाउन थालेको छ।
अमेरिकी दूतावास नेपालका अनुसार, आज कार्यवाहक राजदूत स्कट अर्बोमले बाढी प्रभावित नेपालीका लागि अमेरिकाबाट पठाइएको पहिलो चरणको आपत्कालीन राहत सामग्री हस्तान्तरण/पठाउने कार्य सुरु गरेका छन्।

क्याथोलिक रिलिफ सर्भिसेस (CRS) ले आफ्नो कार्यान्वयन साझेदार कारितास नेपालमार्फत रसुवाका दुई विद्यालयमा राहत सामग्री पुर्याउनेछ। पहिलो खेपमा २.५ मेट्रिक टनभन्दा बढी खाद्य सामग्री, ५०० थान कम्बल, ५०० थान झुल तथा अस्थायी आश्रयस्थलको भुइँमा प्रयोग गर्न ५०० थान इन्सुलेटिङ फोम सिट रहेका छन्।

अमेरिकी दूतावासले नेपाल सरकार, क्याथोलिक रिलिफ सर्भिसेस र कारितास नेपालसँग नजिकबाट समन्वय गरी नेपालमा आवश्यकताअनुसार थप राहत सामग्रीको तयारी तथा वितरण गरिरहेको जनाएको छ।

बाढीबाट प्रभावित समुदायको आवश्यकता मूल्यांकन गर्दै आगामी चरणमा पनि आवश्यक सामग्री पठाइने र राहत वास्तविक आवश्यकतामा परेका नागरिकसम्म पुर्याउने सुनिश्चित गर्न अमेरिका नेपालसँग निरन्तर सहकार्यमा रहेको दूतावासले जनाएको छ।













