काठमाडौं । इन्डोनेसियाको फ्लोरेस टापु नजिकै शनिबार बिहान शक्तिशाली भूकम्प गएको छ ।
अमेरिकी भूगर्भ सर्वेक्षण (यूएसजीएस)का अनुसार ७.७ म्याग्निच्युडको उक्त भूकम्पको केन्द्रबिन्दु फ्लोरेस टापुको उत्तरमा पर्ने एन्डेबाट ६८ किलोमिटर उत्तर–पश्चिममा रहेको थियो ।
भूकम्पपछि इन्डोनेसियाको मौसम विज्ञान एजेन्सीले सुनामीको चेतावनी जारी गरेको छ । एजेन्सीले भूकम्पपछि पूर्वी नुसा तेन्गारा, दक्षिणी सुलावेसी र पश्चिमी नुसा तेन्गारामा सम्भावित सुनामी जोखिम देखिएको जनाएको छ । ३ मिटरसम्म अग्ला छालहरू आउनसक्ने भन्दै सतर्कता जारी गरिएको छ ।
सन् २००४ मा इन्डोनेसियाले इतिहासकै सबैभन्दा विनाशकारी भूकम्पहरूमध्ये एकको सामना गरेको थियो । त्यसको तीव्रता ९.१ म्याग्निच्युड थियो । सुमात्राको तटीय क्षेत्रमा गएको उक्त भूकम्पले शक्तिशाली सुनामी निम्त्यायो, जसमा २ लाखभन्दा बढी मानिसले ज्यान गुमाएका थिए । तीमध्ये १ लाख ७० हजार इन्डोनेसियाली नागरिक थिए ।













