काठमाडौं । भारतको बिहार, मध्य प्रदेश र गुजरातमा भएको तीनवटा विधानसभा सिटको उपनिर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
बिहारको बाँकीपुर उपनिर्वाचनमा जन सुराजका संस्थापक प्रशान्त किशोरले जित हात पारेका छन् ।
भारतीय जनता पार्टी (भजपा)को गढ मानिने बाँकीपुर सिटमा यसअघिका निर्वाचनमा भाजपाका नितिन नवीनले जित्दै आएको उक्त क्षेत्रमा प्रशान्तले १९ हजार ३२४ मतको अन्तरले जित हात पारेका हुन् ।
प्रशान्तले ६४ हजार १५१ मत प्राप्त गर्दा भाजपाका उम्मेदवार नीरज कुमारले ४४ हजार ८२७ मत पाएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
बाँकीपुर सिट भाजपा नेता नवीनको परम्परागत निर्वाचन क्षेत्र मानिन्थ्यो । उनी यहाँबाट लगातार पाँच पटक विधायक रहिसकेका छन् । उनी राज्यसभामा गएपछि यस सिटका लागि उपनिर्वाचन भएको थियो ।
यसैगरी, मध्य प्रदेशको दतियामा कांग्रेस उम्मेदवार घनश्याम सिंह विजयी भएका छन् । भाजपाले यहाँ आशुतोष तिवारीलाई उम्मेदवार बनाएको थियो ।
यता, गुजरातको मन्जलपुरमा भाजपाका सतेन्द्रभाइ (सतिश) पटेलले जित हात पारेका छन् । उनले कांग्रेसका भिखाभाइ रबारीलाई पराजित गरेका हुन् ।
तीनवटै सिटका लागि मतदान जुलाई ३० मा भएको थियो ।













